15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

‘कर्णाली प्रदेशको मुख्य सुरक्षा चुनौती विप्लव समूह’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार १९, २०७६  

सुर्खेत ।

कर्णाली प्रदेशको शान्ति सुरक्षाको मुख्य चुनौती प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा भएको प्रहरी अध्ययनले देखाएको छ । प्रदेश प्रहरीको प्रमुखका रुपमा सरुवा भएर एक साता अघिमात्रै सुर्खेत पुगेका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) पूर्णचन्द्र जोशीले भने, ‘‘प्रदेशको शान्ति सुरक्षामा विप्लव समूह नै ठूलो चुनौती रहेछ । अरु थुप्रै समस्याहरु पनि छन् । तर शान्ति सुरक्षामा प्रहरी कहीं चुक्दैन ।’’ कर्णाली प्रदेश विप्लव समूहको बढी प्रभाव भएको क्षेत्र मानिन्छ । विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि कर्णाली प्रदेशकै हुन् ।

अधिकांश पहाडी र विकट क्षेत्रमा सुरक्षा फौजको सहज उपस्थिति नहुने भएकाले विप्लव समूहले आफ्नो सक्रियता बढाएको बताइन्छ । यस्तै, कर्णाली प्रदेशमा कच्ची सडकका कारण दुर्घटना, लागू औषध, महिला हिंसा लगायतका चुनौतीको सामना गर्न नयाँ योजना लागु गर्ने प्रदेश प्रहरी प्रमुख जोशीले बताए । वर्षाको समयमा हुने प्राकृतिक विपतमा तत्काल उद्धारका लागि प्रहरी तयारी अवस्थामा रहेको जोशीको भनाइ छ । उनले प्रादेशिक केन्द्र वीरेन्द्रनगरलाई ट्राफिक व्यवस्थापन गरी चिटिक्कको सहर बनाउने योजना रहेको सुनाए । त्यसका लागि सडकमा ‘लाइनिङ’ गर्ने, जेब्राक्रस बनाउने, पार्किङलाई व्यवस्थित गर्ने प्रमुख जोशीको योजना छ ।

नागरिकको साथ नपाएसम्म प्रहरी एक्लैले शान्ति सुरक्षा कायम नसक्ने भन्दै प्रहरीलाई साथ दिन नागरिकलाई आग्रह गरे । कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लंघन गरेमा हुने जरिवानाको रकम बैंकमार्फत् बुझाउनुपर्ने भएको छ । यसअघि ट्राफिकले फेला पारेकै ठाउँमा र कार्यालय रसिद काट्ने गरेकोमा अब भने कारबाहीमा पर्नेले नै बैंकमा जरिवानाबापतको रकम जम्मा गर्नुपर्ने भएको हो ।

बुधबारबाट कर्णाली प्रदेशका सबै जिल्लामा उक्त नियमबारे निर्देशन गरिएको कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी विमल बस्नेतले बताए । बस्नेतका अनुसार अब जरिवाना तिर्ने व्यक्ति स्वयंले जरिवानाबापतको रकम जम्मा गरेको भौचर ल्याएर आउनुपर्ने छ ।

प्रकाशित मितिः बिहिबार, असार १९, २०७६     7:41:38 AM  |