1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

बाँकेबाट १ सय २३ हजयात्री मक्का मदिना जाने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार १९, २०७६  

कोहलपुर ।

बाँके जिल्लाबाट यस वर्ष मुस्लिम समुदायका १ सय २३ जना हज गर्नका लागि साउदी अरेबियाको मक्का मदिना जाने भएका छन् । मक्का मदिना हज गर्न जान यस जिल्लाबाट झण्डै दुई सय जनाले केन्द्रीय हज समितिमा आवेदन गरेका थिए तर कोटा अभावका कारण यो वर्ष १ सय २३ जनाले मात्र हज गर्न मक्का मदिना जान पाउने भएका छन् । केन्द्रीय हज समितिका सदस्य मेराज अहमद हलवाई हिमालयका अनुसार हज यात्राका लागि यसबर्ष साउदी अरेबिया सरकारले नेपाललाई एक हजार २०० कोटा दिएको छ ।

उनका अनुसार यसबर्ष बाँकेबाट साउदी अरेबियाको मक्का मदिना हज गर्न १ सय २३ जना छनौट भएका छन् । ‘हजयात्रीकोहरुको अन्तिम लिस्ट आइसकेको अवस्था छ’ उनले भने, ‘नाम परेका हजयात्रीहरुले समेत आफ्नो तयारी थालिसकेको अवस्था छ ।’ आवेदन दिएकाहरुले आफ्नो नाम परे नपरेको जिल्ला प्रशासन कार्यालय बाँकेमा गएर समेत हेर्न सक्नेछन् । बाँके जिल्लाका हज तीर्थयात्रीको टोली साउन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर अरेबियाको जहाजबाट साउदी अरबका लागि प्रस्थान गर्नेछन् ।

बाँकेबाट नाम छनौट भएका हजयात्रीहरुलाई प्रशिक्षण समेत दिइने केन्द्रीय हज समितिका सदस्य मेराजले जानकारी दिए । ‘जिल्लाबाट लिस्टमा परेकाहरुको लागी नेपालगन्जमा समेत प्रशिक्षण र मेडिकल गर्ने तयारी थालेका छौं’ उनले भने, ‘केही दिनमा नै समय सार्वजनिक गर्नेछौं ।’ हज समितिले हज यात्राका लागि साउदी अरेबिया जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । प्रतिहजयात्री करीब दुई लाख ३० हजार खर्च लाग्ने बताइन्छ । यो रकम हाजीहरुले नै ब्यहोर्नुपर्छ । समितिले १० देखि १५ हजार रुपैयाँ हरेक हाजीलाई फिर्ता गर्ने गरेको थियो यो बर्ष भने रकम बढेकाले फर्काउन समस्या हुने समितिले बताएको छ ।

समितिका अनुसार यस बर्ष साउदी रियल बढेकाले प्रतिहाजीको कुल खर्चमा झण्डै पाँच हजारले वृद्वि भएको छ । साउदी सरकारलाई प्रतिहाजी बुझाउनुपर्ने स्थानीय यातायात खर्च यसपटक १५ हजार १८० ले बुझाउनुपर्ने बाध्यता रहेको छ । साउन २ गतेदेखि १० गतेभित्र हजयात्रीहरु साउदी अरब पुगिसक्ने समितिका अध्यक्ष शमशेर मियाँले जानकारी दिए ।

दैनिक १ सय ५० जनाका दरले एयर अरेबियाको जहाजबाट हजयात्रीलाई लगिनेछ । साउदीमा ४२ दिनको मुख्य हज यात्रा सकेपछि उनीहरु स्वदेश फर्किने बताइएको छ । मुस्लिम धर्मका पाँचवटा महत्वपूर्ण धार्मिक कार्यअनुसार इमान (आस्था, विश्वास), नमाज (प्रार्थना), रोजा (व्रत), जकात (दान) मध्ये हज (तीर्थाटन) समेत एक रहेको मुस्लिम अगुवा बताउँछन् । इस्लाम धर्मावलम्बीको जीवनमा एकपटक गर्नैपर्ने धार्मिक तीर्थयात्रामध्ये साउदी अरेबियाको मक्का मदिनाको यात्रामा पुगेर गरिने धार्मिक कार्यलाई ‘हज’ भनिन्छ । मुस्लिममा हज गर्नु अत्यन्त उत्तम र पुनित कार्य मानिन्छ । हज गर्नाले स्वर्ग जानेसरह पुण्यफल प्राप्ति गर्ने र अञ्जानमा भएका गल्तीबाट मुक्ति पाउनाका साथै भेदभावको अन्त्य तथा आमाको गर्भबाट भर्खरै जन्मेका शिशु जस्तै निश्छल र पवित्र हुने धार्मिक विश्वास छ ।

मक्कालाई अल्लाहको घर र मोहम्मदको जन्मथालो मानिन्छ । हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नुपर्छ । मक्कामा सातपटक परिक्रमा (तवाफ) गर्नुपर्छ जसले एक हज प्राप्त हुन्छ । हजयात्रीले बकरईदको बेला साउदी अरबस्थित मक्का मदिना सरिफमा सामूहिक नमाज पढी जनावरको बलि (कुर्बानी) दिने गर्छन । हज यात्रा गरी आउनेलाई हाजी भन्ने गरिन्छ ।

प्रकाशित मितिः बिहिबार, असार १९, २०७६     7:38:51 AM  |