पुर्वाधार, सामाजिक र आर्थिक विकास कोहलपुरको प्राथमिकतामा



शुभाकर विश्वकर्मा, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका आर्थिक वर्ष २०७६÷ ०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाका प्रमुख लुट बहादुर रावतले मंगलबार पाँचौं नगरसभामा आगामी आर्थिक वर्ष २०७६÷०७७ का नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कृषि, पशु, पुर्वाधार विकास, शिक्षा खेलकुदलाई प्राथमिकता दिदै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

कोहलपुर गौरवका आयोजना तथा कार्यक्रमका रुपमा यसै वर्ष १२ किलोमिटर सडक कालोपत्रे, घण्टाघर तथा भ्युटावर निर्माणलाई निरन्तरता, सुविधा सम्पन्न बाल अस्पताल, विद्यूतीय शवदाह गृह निर्माण, आधुनिक बधशाला निर्माण र ल्याण्डफिल्ड साईट निर्माण, बाहिरी रिङरोडको स्थान र लोकेशन डिर्मार्केशन, घुईयाँबारी सल्यान प्रदेशस्तरीय सडक निर्माण, फुसको छाना विस्थापित गर्ने र नेपाल सरकारकै सुचना प्रविधि सेन्टर बनाउन पहल गरिने प्रमुख रावतले बताए ।

‘कोहलपुर नगरपालिकालाई क्लिन र ग्रीन सिटी, समृद्ध र विकसित नगरपालिका’ बनाईने उद्घोष गरिएको छ । प्रमुख रावतले सुखी, खुसी, सभ्य र समृद्ध नगरपालिका बनाउने जस्ता निकै महत्वकांक्षी नीति समेटिएका छन् । यस्तै कोहलपुरलाई शैक्षिक हबको विकास गर्ने, आधारभुत आवश्यकता परिपुर्तीका साथै शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, खेलकुद लगायतका आवश्यकता केन्द्रमा राखेर विकास गरिनेछ । कृषि र पशु पालन तर्फ ‘कृषि र पशुपालनबाट स्वरोजगार, समृद्धी र रोजगारीको आधार’ भन्ने नारा सहित कार्य गर्ने, ‘विषादी मुक्त कृषि कार्य’लाई प्रोत्साहन गर्ने, ‘पशुको जन्मदर्ता’गर्ने र ट्याग लगाउने, ‘नगर प्रमुख युवा कृषि कार्यक्रम’ साना किसान सुदृढिकरण कार्यक्रम र सुत्केरी भक्ता कार्यक्रमलाई अघि बढाईने छ ।

शिक्षा तथा खेलकुद तर्फ एमफिल र पिएचडी गर्नेलाई प्रोत्साहन गरिने, प्राविधिक शिक्षा संचालन गरेको सामुदायिक विद्यालयलाई बिशेष अनुदान, मेयर कप र उपमेयर कप क्रिकेट प्रतियोगिता संचालन गर्ने, सिमान्तकृत वर्गलाई शिक्षामा विषेश जोड दिईने उल्लेख छ । रावतका अनुसार स्वास्थ्य तर्फ ‘महिला तथा किशोरी मैत्री नगरपालिका’ बनाईने, सिकलसेल एनिमिया परिक्षण कार्यक्रमलाई निरन्तरता दिईने, कोहलपुरका प्रत्येक पसलमा २ वटा डस्टविन अनिवार्य, कोहलपुर स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालको रुपमा विकसीत गरिने, निःशुल्क एम्बुलेन्स संचालन, गर्भवती महिला र वृद्धवृद्धालाई सुपानेट झुल वितरण गरिने नीती तथा कार्यक्रममा समावेश गरिएको छ । युवा तथा किशोर किशोरी तर्फ ‘हाम्रा युवा सिर्जनशिल र सभ्य युवा’ कार्यक्रम, सहकारी वित्तीय सस्था तर्फ सुपथ मुल्यका सहकारी पसल संचालन, उपभोक्ता हित तर्फ प्रहरी विट तथा हाईम्याक्स, कोसेली घरको स्थापना, नाईटभिजन सिसिटिभि जडान गरिने छ ।

बैकल्पिक उर्जा तर्फ चीनको राईजिङ ईनर्जी कम्पनीको लगानीमा १०० मेगावाटको सोलार उर्जा संचालन गरिने र विपद् पुर्र्व सुचना प्रणाली सेन्सर जडान कार्य गरिने उल्लेख गरिएको छ । वन, वातावरण तर्फ हरित नगर अभियानलाई निरन्तरता दिने, फोहोर मैला व्यवस्थापनको लागि ‘ हाम्रो कोहलपुर, स्वच्छ र सफा कोहलपुर अभियान संचालन गरिने’, आधुनिक ल्याण्डफिल साईडको निर्माणको लागि पहल गरिने उनले बताए । यस्तै यसै वर्ष ‘कोहलपुर विकास सम्मेलन’ गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

८० करोड बजेट सार्वजनिक

कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत प्रस्तुत गरेको छ । पाँचौ नगर सभामा कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीले बजेट प्रस्तुत गरेकी हुन् । उनका अनुसार आर्थिक वर्ष २०७६÷०७७ को लागि संघीय सरकारबाट शसर्त अनुदान तर्फ २२ करोड २२ लाख, वीत्तीय समानीकरण अनुदान तर्फ १९ करोड १५ लाख र राजस्व बाँडफाँडबाट प्राप्त हुने १४ करोड २७ लाख रहेको छ । यस्तै कोहलपुर नगरपालिकालाई ५ नम्बर प्रदेश सरकारबाट प्राप्त हुने बजेट अख्तियारीमा सशर्त अनुदान १ करोड १० लाख, वीत्तीय समानीकरण अनुदान तर्फ ५१ लाख ४२ हजार र राजस्व बाँडफाँड तर्फ २ करोड २७ लाख ४३ हजार तथा मालपोत शुल्क, रोयल्टी कर लगायत गरि कुल ८० करोड,६१ लाख १७ हजार ४ सय २२ रुपैँया ४० पैसा कुल बजेट प्रस्तुत गरेकी छन् ।

यस्तै आर्थिक वर्ष आर्थिक वर्ष २०७५÷०७६ को आन्तरिक राजस्वको लक्ष्य ५ करोड ६० हजारमा असार मसान्त सम्म ४ करोड ९० लाख संशोधित अनुमान गरिएको छ । यस्तै चालु आर्थिक वर्ष २०७५÷०७६ को खर्च तर्फ १४ करोड ७७ लाख ६१ हजार र पुँजीगत तर्फ ५३ करोड २१ लाख ४७ हजार ६ सय ६ रुपैंया ९० पैँसामा असार मसान्त सम्म विनियोजित बजेटको ८५ प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको छ । यस्तै आर्थिक वर्ष २०७६÷०७७ का लागि क्षेत्रगत बजेट विवरणमा सबै भन्दा बढि पुर्वाधार विकास तर्फ ३० करोड ९६ लाख २७ हजार, सामाजिक विकास तर्फ २८ करोड ५८ लाख २ हजार ४ सय २२ रुपैंया ४० पैंसा रहेको छ ।

यस्तै कार्यलय संचालन तथा प्रशासनिक खर्च तर्फ १३ करोड ५० लाख, आर्थिक विकास तर्फ ४ करोड ५२ लाख ४५ हजार, र सस्थागत विकास, सेवा प्रवाह र शुसासन १ करोड ८० लाख र वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड २५ लाख रहेको छ । यसैगरी २०७६÷०७७ का बजेट प्राथमिकताका आधारहरुमा आर्थिक विकास र गरिबी निवारण, उत्पादनमुलक र छिटो प्रतिफल दिने राजस्व परिचालनमा योगदान पुयाउने र सामाजिक सुरक्षामा प्रत्याभुति दिने रहेका छन् ।

यस्तै बजेटका स्थानीय पुर्वाधारको विकासर विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने कोहलपुरको पहिचानको गौरवका आयोजना लागु गर्ने, कृषिमा आधुनिकिकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्य रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार ११ गते बुधबार