14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

कर्णाली प्रदेश सरकारको बजेट ३४ अर्ब ३५ करोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार २, २०७६  

सुर्खेत ।

कर्णाली प्रदेश सरकारले ३४ अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ बजेटको स्रोत मध्ये आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य छ भने चालु बजेटमा खर्च नभएको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार छ ।

यस्तै संघीय सरकारबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटबाट आउने २ करोड ७४ लाख र सशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख छ । समपुरक र विषेश अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख अनुदान प्राप्त हुनेछ भने नपुग ७५ करोड आन्तरिक ऋणबाट जुटाइनेछ ।

केके छन् कार्यक्रम ?

प्रदेश सरकारले बजेटमा पूर्वाधार विकास कार्यक्रमका लागि १ अर्ब २० करोड बजेट छुट्यायो । कर्णाली पूर्वाधार विकास प्रमुख प्राधिकरण गठन गर्ने डीपीआर सम्पन्न भएका परियोजनहरुलाई परियोजना बैंकमा राख्ने बजेटमा उल्लेख छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई १ अर्ब २९ करोड, खानेपानी क्षेत्रमा १ अर्ब ३८ करोड ३५ लाख र सिँचाइ क्षेत्रमा १ अर्ब ७० करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम, मनमोहन सामाजिक सुरक्षा कार्यक्रम, छोरीबुहारी मुलप्रवाहीकरण कार्यक्रम लगायतलाई बजेट छुट्याएको छ । सडक सुविधा नभएका हुम्ला र डोल्पाका जेष्ठ तथा पूर्ण अपाङ्गगता भएका व्यक्तिका लागि हवाई टिकटकमा सहुलियत दिन १ करोड ५० लाख बजेट छ । स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदान ४० करोडबाट बढाएर ८० करोड र्पुयाइएको छ भने कर्णाली पूर्वाधार विकास लगानी कोषमा ३ अर्ब दिइएको छ । नेपाल सरकार, विकास साझेदार वा विदेशी लगानीकर्ताबाट आउने रकम समेत जाने यो कोषमा आवश्यक वित्तीय व्यवस्थापनका लागि थप २ अर्ब छुट्याइएको छ ।

प्रकाशित मितिः सोमवार, असार २, २०७६     8:09:21 AM  |