13 May 2024  |   सोमवार, बैशाख ३१, २०८१

कर्णालीको दुसित पानी खान बाध्य यार्सा संकलक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६  

मुगु ।

मुगु जिल्लाको पुर्वी करान भेगका विभिन्न हिमाली पाटनमा पाईने यार्सा संकलन गर्न जाने हजारौ संकलकहरुको स्वास्थ्य जोखिममा पर्ने गरेको छ । उनीहरु कर्णालीको दुसित पानी खान बाध्य भएका छन । हप्ता दश दिन बढि मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर दुईको शिरानी चौरमा बन प्रवेशको अनुमति लिन संकलकहरुलाई रोक्ने परम्परा छ ।

यसरी रोक्दा हजारौ संकलक जम्मा हुने भएकाले जथाभावी दिसा पिसाव गर्ने, प्लाष्टि जन्य र सिसा जन्य फोहोर जताततै फाल्ने भएकाले संकलनको स्वास्थ्य जोखिममा पर्ने गरेको छ । हरेक बर्ष संकलकहरुबाट करोडौं राजश्व संकलन हुने भए पनि संकलकहरुका लागि अस्थायी चर्पी फोहोर व्यवस्थापन र शुद्ध खानेपानीको व्यवस्था नहुँदा समस्या भएको हो । तिन वर्ष अघि दश लाख खर्चेर खानेपानीको व्यवस्था गरिए पनि खानेपानीको उचित संरक्षण गर्न नसक्दा यस वर्ष यार्सा संकलकहरु नदिको फोहोर पानी खान बाध्य भएका थिए ।

फोहोर बातावरण र पानीकै कारण एक दर्जन बालबालिकालाई झाडा पखाला र आउँ मासीले बिरामी परेको मुगु गाउँकी स्थानीयवासी एवं गाउँपालिकाकी उपाध्यक्ष छिरिङ तामाङले जानकारी दिईन । बन प्रवेशका लागि रसिद काट्ने अबधी भर शिरानी चौंरमा स्वास्थ्यकर्मीको टोली औंषधी सहित बस्ने भए पनि उच्च हिमाली पाटनमा पुग्न नसक्ने शिरानीचौंर खटिएका स्वास्थ्यकर्मी गुरुछोर्देन लामाले बताए । शिरानीचौंरमा जम्मा भई उपचार गराउन आएका मध्य अधिकाँशमा पेट दुख्ने, पखाला लाग्ने समस्या भएका व्यक्ति आउनुले पनि वातावरणीय प्रदुषण र फोहोर खानेपानी नै मुख्य कारण देखिएको लामाले बताए ।

संकलकहरु बन गई सकेपछि पनि स्वास्थ्यकर्मीको टोली केही दिनसम्म शिरानीचौंरमा नै बस्ने र बनबाट फर्किने अधिकाँशमा पेटकै समस्या देखिने गरेको उनको भनाई छ । यो भन्दा अगाडी यार्सा संकलकहरुबाट लाखौ रकम उठाए पनि उनीहरुका लागि खर्च नगरिएको पाईएको मुगुम कार्मारोङ गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताए ।

आगामी बर्षका लागि शिरानी चौरमा एक दर्जन स्थानमा शुद्ध खानेपानीका धारा, एक दर्जन बढि स्थानमा खाल्डे चर्पी, पाल हाल्ने तथा होटेल पसल गर्ने स्थानको निर्माण गर्ने योजना बनाईएको शाहीले बताए । उनका अनुसार विगतका वर्षहरुमा जस्तो आगामी वर्षमा यार्सा संकलकले शिरानी चौंरमा पाल हाल्ने , खानेपानी तथा स्वास्थ्य क्षेत्रमा समस्या व्यहोर्ने छैनन् ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६     11:15:27 AM  |