वर्तमान सरकार संघीयता र संविधानको विपक्षमाः सिंह



सुर्खेत ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार संघीयता र संविधान कार्यान्वयनको विपक्षमा रहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस सुर्खेतले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टीका पूर्व महामन्त्री समेत रहेका उनले सरकार नै संविधान बिरुद्ध चलिरहेको आरोप लगाएका हुन् ।

‘दुई तिहाईको दम्भ देखाउँदै सरकार मनपरी र अधिनायकवाद शैलीमा निति, नियम बनाउँदैछ, यसले नागरिक स्वतन्त्रता माथि कुण्ठित पार्ने काम हुँदैछ’ उनले भने, ‘कांग्रेसले नै संविधान जारी गरेको हो, अब त्यसको पालना र रक्षा गर्ने दायित्व पनि कांग्रेसकै हातमा आँउदैछ ।’

संविधानमाथि धावा बोल्नेका बिरुद्ध सबै नागरिक जाइलाग्न एकजुट हुनुपर्ने उनको भनाई छ । प्रदेशका मुख्यमन्त्रीहरुले नै काम गर्ने वातावरण नभएको भनि दिएका टिप्पणीका आधारमा नेता सिंहले सरकार संघीयता र संविधान कार्यान्वयनको विपक्षमा रहेको दाबि गरे । यसैगरी उनले सरकारले ल्याएको मिडिया काउन्सिल विद्ययक सच्याएर मात्रै पारीत गर्नुपर्ने भन्दै यो विधेयक जस्ताको त्यस्तै पारीत भए जनताको बोल्ने अधिकार खोसिने टिप्पणी गरे ।

सरकारले एक पछि अर्को गर्दै विभिन्न विधेयकहरु ल्याएर अधिनायकवाद लाद्न खोजेको उनको आरोप छ । पार्टीभित्रको संस्थागत सुधारका लागि गाँउ जागरण अभियान अन्र्तगत पार्टीको विधि विधान अनुसार एकढिक्का भएर कांग्रेस अघि बढेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २७ गते सोमबार