अछाम ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट भएको छ । शुक्रबार राती आयोजनास्थल भन्दा ४ किलोमिटर पश्चिमतिर रहेको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीको अनुसार तुर्माखाँद गाउँपालिका–३ असराघाटमा रहेको आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट गराइएको हो ।
स्थानीय दिपक विसीको घरमा एक कोठा भाडामा लिएर आयोजनाले सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको थियो । डीएसपी शाहीले भने, ‘विस्फोटबाट विसीको घरमा सामान्य क्षति पुगेको छ भने एउटा मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ ।’
विस्फोटबाट भे७प ९६९८ नम्बरको पल्सर मोटरसाइकल पूर्णरुपमा क्षति भएको हो । यतिबेला घटनास्थल वरीपरी शान्ति सुरक्षामा कडाई गरिएको छ ।
प्रहरीका अनुसार घटना कसले किन गरायो पुष्टि हुन नसकेपनि सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुनसक्ने आशंका गरेको छ ।