मुगु ।
गर्मी शुरु भएसँगै कर्णाली प्रदेशको मुगुस्थित रारा तालमा भ्रमण गर्ने पर्यटकहरुको संख्या बृद्धि भएको छ । कर्णाली सहित पश्चिम क्षेत्रको प्रसिद्ध रारा तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएको हो । बैशाख महिनाको शुरुदेखी पर्यटकको संख्या ह्वात्तै बढेको रारा राष्ट्रिय निकुञ्जका वार्डेन लालबहादुर भण्डारीले बताए । ‘रारामा चैत पहिलो हप्तादेखि नै आन्तरिक तथा बाह्य पर्यटकको आगमन शुरु हुन्छ ’ उनले भने, ‘दैनिक एक सय ५० जनाको हाराहारीमा पर्यटक रारा पुग्ने गरेका छन् ।’
उनका अनुसार चैतदेखि साउनसम्म रारा घुम्ने उपयुक्त मौसम मानिन्छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक सञ्चालनमा आएसँगै राराका यात्रुलाई पनि सहज भएको उनको भनाई छ । एक वर्षमा १५ हजार आन्तरिक र दुई सय ४२ बाह्य पर्यटक रारा पुगेका छन् । यसैबीच, यसपटक रारा पुग्ने पर्यटकको सुविधाका लागि सूचना केन्द्र राखिएको छ । नेपाली सेनाको टोलीले तालको नियमित सफाई अभियान चलाइरहेको छ ।
रारा सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्रीदल गुल्मका गुल्मपति रवि केसीकाअनुसार पर्यटकको उपचारका लागि सेनाले स्वास्थ्य क्लिनिकको व्यवस्था गरेको छ । विश्व सामु चिनाउन सफल भएको कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगुमा अवस्थित रारा तालको चारैतिरका बोटबिरुवा र रूखमा पालुवाहरु बिस्तारै छाउन थालेका छन् ।
रारामा हिमाल र हरिया पहाडको प्रतिविम्ब देखिन थालेको छ । पुस र माघको भारी हिमपातले भत्किएको बाटो भने केही मात्रामा बिग्रिए पछि आवात जावतमा समस्या परेको आन्तरिक तथा बाह्य पर्यटकहरुले गुनासो गरेका छन् । यतिखेर तराई र पहाडमा गर्मी बढेसँगै हिमाली क्षेत्रमा चिसो भने घटेको पाइएको छ । प्राकृतिक फेरबदलसँगै रारा यात्राको याम पनि सुरु भएको रारा राष्ट्रिय निकुञ्जका वार्डेन लालबहादुर भण्डारीले बताए ।