14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

तीन पानी कम्पनीमा शिलबन्दी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १७, २०७६  

सुर्खेत ।
सुर्खेतका तीन वटा पानी कम्पनीमा शिलबन्दी गरिएको छ । आइतबारको अनुगमनमा दुइवटा कम्पनीमा शिलबन्दी गरेको प्रशासनले सोमबार थप एक कम्पनीमा शिलबन्दी गरेको हो । वीरेन्द्रनगर १० सुर्खेतमा रहेको रारा ड्रिङ्किङ्ग वाटर सप्लाई उद्योगलाई अनुगमन टोलीले शिलबन्दी गरेको हो ।

त्यसैगरी जयश्री पेवर ड्रिङ्किङ्ग वाटर कम्पनी र काँक्रेविहार वाटर कम्पनी भने संचालन नभएको पाइएको छ । मापदण्ड पूरा नगरी संचालन गरेकोले, गुणस्तरीय पानी उत्पादन नभएकोले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएको हुँदा पानी उत्पादन गर्ने कम्पनीमा शिलबन्दी गर्नु परेको खाद्य निरीक्षक भेषबहादुर थापाले बताए । पिउने पानी सम्बन्धि निदेशिका २०७४ बमोजिम मापदण्ड पूरा गरेर कम्पनी सुचारुका लागि निवेदन दिएमा पुनः अनुगमन गरी कम्पनी संचालन गर्न दिने निरीक्षक थापाले उल्लेख गरे ।

मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि. औद्योगिक क्षेत्र सुर्खेतले उत्पादन गरेको पानीको जार भित्र केही दिन अघि मात्र झिँगा फेला परेको थियो । आइतबार खाद्य निरीक्षक थापाकै नेतृत्वमा गएको अनुगमन टोलीले मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि. औद्योगिक क्षेत्र सुर्खेत र देउती दर्शन वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि. पिपिरा सुर्खेतमा शिलबन्दी गरेको हो ।

मापदण्ड विपरित संचालन गरेकोले गुणस्तरीय पानी उत्पादन नभएकोले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएको हुँदा पानी उत्पादन गर्ने कम्पनीमा शिलबन्दी गर्नु परेको उनले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १७, २०७६     6:54:28 AM  |