कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीमा सोमबार राती यात्रुबहाक बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बुटवलबाट नेपालगन्जतर्फ आउदै गरेको लु १ ख ५९९१ नम्बरको बस रोकिराखेको भे १ त ५६९८ नम्बरको ट्याक्टरसँग ठोक्किदा उक्त दुर्घटना भएको थियो ।
दुर्घटना परेर ४ जना गम्भिर घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना परी गम्भिर घाइते हुनेहरुमा रुपन्देही सैनामैना नगरपालीका वडा नम्बर ११ का ३७ बर्षिय बिष्णु मल्ल, जाजरकोट जिल्ला बारेकोट गाउँपालीका वडा नम्बर ९ का २१ बर्षिय गोपाल जैसी, जाजरकोटका ४० बर्षिय कृष्णा भण्डारी र बाँके खजुरा गाउपालीका वडा नम्बर २ का २४ बर्षिय शोभा रसाईली रहेका छन् ।
सामान्य घाइतेहरु उपचारपछि घर फर्किसकेका छन् । गम्भिर घाइतेहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटना लगत्तै नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानीयबासीहरुले यात्रुहरुको उद्वार गरेका थिए ।