8 September 2024  |   आइतवार, भदौ २३, २०८१

प्रदेश सरकारकै लगानीमा नाटक घर बन्ने प्रतिबद्धता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५  

सुर्खेत ।

पहिलो पटक सुर्खेतमा आयोजना भएको रारा राष्ट्रिय नाटक महोत्सव बुधबार सम्पन्न भएको छ । सांस्कृतिक संस्थान नेपाल र स्थानीय आरंग नेपालको आयोजनामा फागुन २३ देखि सुरु भएको नाटक महोत्सव उत्सापूर्ण रुपमा बुधबार सकिएको हो ।

देशभरीका सात प्रदेशबाट दुइ÷दुइ गरी १४ वटा नाटक समावेश भएको महोत्सवमा आयोजकले सोचेको भन्दा पनि अनपेक्षित रुपमा दर्शक पायो । दैनिक नाटकघर दर्शकले भरिभराउ हुँदा नाटक प्रदर्शन गर्ने कलाकारले पनि उत्साहपूर्ण तरिकाले आफ्नो प्रस्तुती राखे । पहिलो पटक नै भए पनि नाटकले स्थानीय तहदेखि प्रदेश सरकारको भरपुर सामिप्यता प्राप्त गर्न सफल भएको छ ।

छिटफुट रुपमा नाटक मञ्चन हुने सुर्खेतमा आफ्नै नाटकघर नहुँदा नाट्य विधा अपेक्षाअनुसार मौलाउन पाएका थिएन । तर अन्तिम दिन प्रदेश सरकारले नै आफ्नै लगानीमा नाटक घर निर्माण गर्ने बाचा गरेपछि सांस्कृतिक संस्थान र आरंग नेपालका पदाधिकारीले सुर्खेतमा महोत्सव लगाउनुको उद्देश्य पूर्ति भएको बताएका छन् ।

बुधबार काठमाडौंको ङ समूहको नाटक प्रदर्शनपछि प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले आगामी आर्थिक वर्षमा नै नाटकघर निर्माणका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए । मन्त्री रावलले तर बजेट विनियोजन हुनुपूर्व सांस्कृतिक संस्थानले डिपीआर तयार पार्नुपर्ने अनुरोध गरे । कला, संस्कृति र भाषाको संरक्षणबिना मानव अस्तित्व कायम नहुने भएकाले कर्णालीको पहिचान स्थापीत गर्न प्रदेश सरकारले जिम्मेवारपूर्ण भूमिका निभाउने बाचा गरे । यस्तै, राष्ट्रियसभाका सदस्य तथा बरिष्ठ रंगकर्मी खेम नेपालीलले कला, संस्कृति र भाषालाई अलग राखेर जीवनको अस्तित्व नहुने दाबी गरे ।

स्थानीय आयोजक आरंग नेपालका संयोजक गणेशभक्ता गौतमले सातदिनसम्म संचालन भएको नाटकको उद्देश्य कलाको प्रदर्शन मात्रै नभई सुर्खेतमा नाटक मञ्चन हुने स्थानको खोजी पनि भएकाले प्रदेश सरकारको प्रतिबद्धताबाट सन्तुष्ट भएको बताए । उद्घाटनको दिन आरंग नेपालको मुसलपर्व प्रस्तुत गरिएको थियो । दैनिक दुई÷दुई वटा नाटक मञ्चन हुने प्रहरी व्यायामशालाको हलमा २४ गते प्रदेश नं.१ बाट सोलुखुम्बु नाट्य समुह, सोलुखुम्बुबाट युवराज युराकद्वारा निर्देशित नाटक ‘आरन’ प्रदर्शन भएको थियो ।

सोही दिन दिउँसो ३ बजे प्रदेश ७ को खप्तड सांस्कृतिक मञ्च परिवार, कैलालीबाट पुष्पा अवस्थीद्वारा निर्देशित ‘छाउ’ प्रदर्शन गरियो । त्यस्तै, २५ गते ११ बजे प्रदेश १ बाट मानव अधिकार मञ्च नेपाल, इलामबाट सुरेश पोर्तेलद्वारा निर्देशित नाटक ‘म पहिलो सन्तान किसान जन्माउछु’ र कर्णाली कला प्रतिष्ठान, सुर्खेतबाट बालकृष्ण सुनारद्वारा निर्देशित नाटक ‘आमाको सपना’ प्रदर्शन भयो ।

२६ गते प्रदेश २ बाट श्री गढीमाई नाट्य कला केन्द्र, बाराको रामलोचन चौरसीयाद्वारा निर्देशित ‘दहेज आ दारु’ सुदुर पश्चिमाञ्चल साहित्य समाज, कैलालीबाट भिष्म जोशीले निर्देशन गरेको नाटक ‘श्रीमान् वीरबहादुर’, २७ गते बजे प्रदेश नं. ३ को साइलेन्ट एक्ट, काठमाडौंबाट आरके मेहताले निर्देशन गरेको नाटक ‘जिउँदो आकाश’, कर्णाली प्रदेशको कर्णाली खस संस्कृति मञ्च जुम्लाबाट रन्नीबहादुर घर्तीले निर्देशन गरेको ‘फड्को’ नामक नाटक मञ्चन भएको थियो ।

यस्तै २८ गते विहान ११ बजे प्रदेश नं. ४ को मञ्जरी नाट्य समुह, लमजुङबाट पुरु लम्सालले निर्देशन गरेको नाटक ‘नौगेडी’, प्रदेश नं. ५ को शान्तिका लागि युवा सञ्जाल बर्दियाबाट झकेन बिसीले निर्देशन गरेको नाटक ‘हिटवा’, र २९ गते विहान ११ बजे प्रेशन नं. ४ को युथ क्रिएसन थिएटर पोखराबाट केदार पौडेलले निर्देशन गरेको नाटक ‘घेरो’ प्रदेश नं. ३ को ङ समुह काठमाण्डौबाट प्रवीण खतिवडाले निर्देशन गरेको नाटक ‘एक बोली एक दाम’ मञ्चन भएको आरंग नेपालका संयोजक गणेश गौतमले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५     9:27:38 AM  |