सुर्खेत/एकैरातमा आगलागिबाट कालिकोटको एक गाउँ खरानीमा परिणत भएको छ । एउटा घरको छतमा लागेको अगोले पुरै गाउँलाई नै चपेटामा लिएर सखाप बनाएका छन् ।
कालिकोटको पलाँता गाउँपालिका–खाडान्यौपानेवडाका नविन न्यौपानको घरबाट आइतबार राती आगो लागेको थियो । महिला, बालबच्चा र कर्मचाहरु डेरा गरेर बस्ने घरको खरले छानो भएको तेस्रो तलाबाट आगो लागेको बताइएको छ । आगो लागेपनि धेरै समयसम्म घरभित्रै पसेकाले समेत जानकारी पाएनन् । जब छतमाथि आगो दन्कियो अनि मात्रै गाउँलले आगो लागेको होहल्ला गरे ।
गाउँलेको होहल्ला के हो ? भनेर बुझ्न बाहीर निस्केका डेरावालले आफ्नै छतमाथि आगो लागिरहेको देख्दा अचम्ममा परे । आगो दन्किदै गएपछि आफ्नो ज्यान बचाएपनि घरभित्रको सामान भने जोगाउन सकेनन् । आगो नियन्त्रणका लागि सबै गाउँले जम्मा भएपनि घरको छानो एक पछि अर्को समात्दै गएको आगो निभाउन कसैको बस नचलेको गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले बताइन् । गाउँमा महिला, बालबच्चा र जेष्ठ नागरिक मात्रै भएकोले दन्किरहेको आगोनियन्त्रणमा ल्याउन सकेनन् ।
मध्यराती नविन न्यौपाने र मनिचन्द्र न्यौपानको घरबाट सुरु भएको आगो नियन्त्रणका लागि प्रहरीलाई खबर गरेपछि धेरै टाढा भएका कारण रातभर प्रहरी पुग्न नकेको उपाध्यक्ष न्यौपानेको भनाइ छ । एकपछि अर्को घर आगोले समात्दै गएपछि स्थानीयले अत्यावश्यक मालसामान बाहिर सारे र आफ्नै आँखा अगाडि ओत जल्दै गरेको प्रत्यक्षदर्शी बने । ‘हामीले आगो निभाउन धेरै प्रयास गयौं, तर दनदनती बलिरहेको आगो हाम्रो नियन्त्रमा आउन सकेन’ स्थानीय पीडित कुसराज न्यौपानले भने, ‘निभाउन नसक्नेभएपछि केही समान र पशुवस्तु बाहिर निकाल्यौं, चिसोमा हामी खुला चौरमा बसेर आफ्नै छानो जलिरहेको हेर्न बाध्य भयौं ।’ आगलागीबाट ८७ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । एकसय ६९ घर भएको खाडागाउँका ८७ घर खानीमा परिणत भएका छन् । अहिले तीनीहरुको भग्नावेश मात्रै बाँकी रहेको छ । सोमबार बिहान मात्रै प्रहरी पुगेपछि आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट ७ जना मानिस घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय निमित्त प्रमूख देवेन्द्रकुमार मल्लका अनुसार घाईते हुनेहरुमा ७० बर्षिया चन्द्ररुपा संज्याल, ७० बर्षिया देवराज हमाल, ३५ बर्षिया बिष्णुऋषि न्यौपाने, ५८ बर्षिया कर्णप्रसाद न्यौपाने, १० बर्षिया करिस्मा न्यौपाने र ९ बर्षिया रत्न न्यौपाने छन् । चन्द्ररुपा संज्यालको अवस्था गम्भीर रहेको मल्लले बताए । १९ वटा गाइगोरु, दुई भैसी र दुईवटा बाख्रा मरेका छन् ।
आगोबाट करोडौंको क्षति भएपछि गाउँपालिकाले सबैलाई पीडितको पुर्नस्थापनाका लागि सहयोगको अपिल गरेको छ । पीडितलाई राहत स्वरुप जिल्लाका तीनवटा स्थानीय तहले नगद सहयोगको घोषणा गरेका छन् । तिलागुफा नगरपालिकाले एक लाख, रास्कोट नगरले एक लाख, शान्नित्रिवेणी गाँउपालिकाले २ लाख दिने घोषणा गरेका हुन् ।
यता कर्णाली प्रदेश सरकारले भने आगलागीबाट पीडित भएकालाई प्रदेश सरकारले सोमबार नै राहत उपलब्ध गराएको छ । प्रदेशका सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हेलिकोप्टरमार्फत राहत सामग्री बोकेर घटनास्थलमा पु¥याएका छन् ।
राष्ट्रियसभा सदस्य जीवन बुढा, प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र प्रदेश सभा सदस्य कुर्मराज शाही सहित मुख्यमन्त्री शाही राहत सामाग्री लिएर सोमबार नै खाडान्यौपानेवाडा पुगेका हुन् । मुख्यमन्त्री शाहीको टोली प्रदेश सरकारको तर्फबाट तत्कालीन राहत स्वरुप नगद २० हजार, एकसय थान ब्ल्यांकेट, पाँच वण्डल पिफम, एकसय थान सिरक डसना, चाउचाउ, विस्कुट चिउरा लगायतका सामग्री पीडितलाई उपलब्ध गराएको छ ।
यस्तै मुख्यमन्मत्री शाहीले गृहमन्त्रालयको तर्फबाट प्राप्त भएको त्रिपाल ६० थान, जुत्ता एकसय थान, ज्याकेट एकसय थान, ट्राउजर एकसय थान र दुईसय थान ब्ल्यांकेट लिएर नेपाली सेनाको हेलीकोप्टर मार्फत अग्नीपिडित क्षेत्र पु¥याएका छन् ।
केन्द्र सरकारको तर्फवाट सदरमुकाम मान्मावाट तीनहजार किलो चामल सहित दाल, नुन तेल लगायतको अतयावश्यक खाद्यान्न सामाग्री अग्नीपिडितलाई उपलब्ध गराइएको
छ । यस्तै विगत तीन वर्षको अवधिमा आगलागीबाट कर्णालीमा १८ जनाले ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन् ।