कोहलपुर/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । नवनिर्मित भवनको उद्घाटन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नबिन कुमार घिमिरेले पछिल्लो समयमा स्थानीय निकायहरुमा भ्रष्टाचार मौलाउँदै गएको बताएका छन् । हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएकोले त्यसलाई रोमथाम गर्न सबै सरोकारवाला निकायहरु अग्रसर हुनपर्ने बताए ।
आयूक्त घिमिरेले आयोगको प्राथामिकता भ्रष्टाचारसँग सम्झौता गर्ने नभई भ्रष्टाचार न्यूनीकरणमा क्रियाशिलता रहेको बताउदै त्यसका लागि आयोग हरेक निकायसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताए । स्थानीय तहको हरेक काम कारबाही पनि अख्तियारले नजिकबाट नियाली रहेको समेत बताए । कानून बनाउने बहानामा कसैलाई पनि भ्रष्टाचार गर्न छुट नभएको भन्दै उनले संघीय कानूनको सीमाभित्र रहन स्थानीय तहका पदाधिकारीलाई आग्रह गरे ।
आयुक्त घिमिरेले भने, ‘गाँउको एउटा किसानले तिरेको करबाट राष्ट्र सेवक कर्मचारीहरु पालिएका छौँ त्यसैले आफुहरु जनताप्रति कति उत्तरदायी छाँै, विचार र आत्म समिक्षा गर्ने समय आएको छ ।’ अहिले बहुमतको सरकार भएको हुँदा स्थानिय निकाय र प्रदेश सरकार स्थापनाको संक्रमणमा छन्, कानूनी निर्माता पनि उहाँहरुनै भएको हुदा स्थानिय सरकार र प्रदेश सरकारलाई भ्रष्टचार गर्ने छुट नभएको प्रमुख आयूक्तले बताए ।
विभिन्न सरकारी कार्यालयहरुमा ‘स्ट्रिङ’ अप्रेशन कुनै कसैको स्वार्थ वा रहरले नगरिएको उल्लेख गर्दै प्रमुख आयुक्त घिमिरेले पीडित सेवाग्राही आफ्नो समस्या लिएर आउँदा आयोगसँग अर्को विकल्प नभएकोे समेत जिकिर गरे ।
आयोग कार्यालय बुटवलका प्रमुख रविलाल पन्थका अनुसार पाँच करोड २८ लाख ४५ हजार ५ सय २२ रुपैयाँको लागतमा अख्तियारको प्रशासनिक र सुरक्षा भवन निर्माण सम्पन्न भएको हो । २०७२ जेठ १४ गते शुरु भई दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएकोमा तीन वर्षमा कार्य सम्पन्न भएको छ ।