सुर्खेत/ पछिल्लो समय थारू समुदायको संस्कृति लोप हुँदै जान थालेको भन्दै यसको संरक्षण गर्न घरबास सञ्चालनमा ल्याइएको छ ।
थारू संस्कारलाई संरक्षण गर्दै पर्यटन प्रर्वद्धनका लागि कर्णाली प्रदेशमा थारू होमस्टे सञ्चालनमा ल्याइएको होमस्टे सञ्चालक जीतबहादुर चौधरीले जानकारी दिए ।
बीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँस्थित थारू बस्तीमा उक्त घरबास सञ्चालनमा ल्याइएको हो । कूल रु ४० लाखको लगानीमा निर्माण गरिएको घरबासको मुख्य आकर्षण घोँघी र ढिकरी रहेको सञ्चालक चौधरीले बताए ।
घरबासमा ढिकरी, घोँघीका अलावा लोकल सुँगुरको मासु, स्थानीय खोलामा पाइने साना माछा, लोकल कुखुरा, हाँस, भेँडाको मासुलगायत बट्टाइ चराको मासुसमेत उपलब्ध हुने उनले बताए ।
“पछिल्लो समय थारू संस्कृति लोप हुँदै जान थालेको छ, यसलाई संरक्षण गर्नको लागि घरबास सञ्चालनमा ल्याएका छाँै, उनले भने, “घरबासले गर्दा यहाँको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्दछ ।
थारू संस्कृतिको नयाँ वर्ष तथा थारू समुदायको महान् चाड माघीदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ । त्यसैगरी थारू बस्ती रहेको नयाँ गाउँका कृषक सबै कृषि पेशामा रहेकाले उनीहरूको आर्थिक आयआर्जनमा समेत टेवा पुग्ने गरी घरबास सञ्चालनमा ल्याइएको सञ्चालक चौधरीले बताए ।
यहाँका कृषकलाई अर्गानिक उत्पादन गर्न प्रात्साहित गर्दै स्थानीय कृषकले उत्पादन गरेका सामग्री घरबासमा ल्याउने चौधरीले बताए । यसका लागि ३४ बिगाहामा अनदी धान लगाइएको चौधरीले बताए । घरबासमा अनदी चामलका विभिन्न परिकार खुवाउने उद्देश्यले यसको खेती शुरु गरिएको छ । -रासस









प्रतिक्रिया दिनुहोस्