21 June 2021  |   सोमवार, असार ७, २०७८

जुम्लामा जीप दुर्घटना, एकै परिवारका ३ को मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ७, २०७५  

जुम्ला/  जुम्लाको बड्कीमा बुधबार जीप दुर्घटना हुँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । जुम्ला सदरमुकामदेखि सिंजा जाँदै गरेको बा १ ज ८६५ नम्बरको जीप हिमा गाउँपालिका–१ बड्कीमा दुर्घटना हुँदा नाबालिकासहित तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख सीताराम रिजालका अनुसार सुर्खेतका लागि छुटेको बुलबुले यातायात प्रालीको जीप बिरामी लिन नराकोट पुगेर फर्किने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा तिला गाउँपालिकाका २६ वर्षीय लाले शार्की, उनकी २५ वर्षीया पत्नी जानकी सार्की र तीन वर्षीया छोरीको मृत्यु भएको हो ।

प्रहरी प्रमुख रिजाल अनुसार दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको उनले बताए ।

दुर्घटनाग्रस्त जीप सडक भन्दा झण्डै २ सय मिटर तल खसेको छ । दुर्घटनाको सबै विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ । यस्तै बुधबार नै नवलपरासीबाट रारा घुम्न आएका आन्तरिक पर्यटक सवार जीप सिंजास्थित गोठीजीउलामा दुर्घटनामा परेको छ । यो दुर्घटनामा यात्रु सामान्य घाइते भएका छन् । -अन्नपूर्ण पोष्ट

प्रकाशित मितिः बुधबार, कार्तिक ७, २०७५     6:02:26 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *