‘जनपक्षीय ऐन बनाउनेमा सचेत छौं’



कोहलपुर/  प्रदेश ५ की कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री आरती पौडेलले जनपक्षीय ऐन बनाउनेमा आफू सचेत रहेको बताएकी छन् । बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसले गरेको स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै जनताले चाहेबमोजिमको ऐन बनाइने बताएकी हुन् ।

उनले बागेश्वरी क्याम्पसको विकासका लागि प्रदेश र संघीय सरकारमा पहल गर्ने बताइन् । जिल्ला समन्वय समितिमा जम्मा भएको जग्गा रजिष्ट्रेशनको १ प्रतिशत (अढाई करोड) रकम क्याम्पसका लागि ल्याउन पहल गर्ने उनले प्रतिबद्धता जनाइन् ।

यस्तै ५२ वटै निर्वाचन क्षेत्रमा ‘स्मार्ट कृषि भिलेज’ बनाइने उनको भनाइ छ । कृषि भिलेजका लागि हरेक निर्वाचन क्षेत्रका लागि ५० लाखको व्यवस्था गरिएको जानकारी दिइन् ।

यस्तै बिचौलियाका कारण मारमा परेका किसान र उपभोक्तालाई सहज हुने गरी सहकारी बजार व्यवस्थापनको योजना ल्याइएको उनले बताइन् । साथै कृषकलाई अर्गानिक खेतीप्रति आकर्षित गराउन १ किलो अर्गानिक मलमा १५ रुपैयाँ अनुदान दिइने उनको भनाइ छ ।

जमिन नभएकालाई करार खेतीको अवधारणा पनि ल्याइएको उनले बताइन् । भूमि व्यवस्थापनका लागि भूमि आयोग बनाइएको उनले बताइन् । बागेश्वरी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र न्यौपानेले बहुआयामिक भवनका लागि जिल्ला समन्वय समितिमा जम्मा भएको रकम ल्याउनका लागि पहल गर्न माग गरे ।

उनले क्याम्पसलाई प्रविधिमैत्री बनाउनका लागि ई–लाइब्रेरी, इन्टरनेट, श्रव्यदृश्य कक्षा सञ्चालनको योजना रहेको बताए ।
यस्तै निवर्तमान अध्यक्ष होमप्रकाश सुवेदीलाई बिदाइ गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २ गते बुधबार