सुर्खेत/ प्रदेशको राजधानीसँगै व्यापारिक केन्द्र बनेको वीरेन्द्रनगरमा सवारी साधनको चाँप ह्वात्तै बढेको छ ।
विगतदेखि पार्किङ्ग अभाव झेल्दै आएको नगरमा प्रदेशस्तरको बसपार्कको नहुँदा समस्या देखिएको छ । पछिल्लो सवारी चाप पनि निकै बढेसँगै व्यवस्थापन गर्ने संयन्त्र प्रभावकारी नबन्दा सवारी साधन व्यवस्थापनका लागि मुख्य चुनौती बन्दै गएको छ ।
राजधानी भएसँगै मुहार फेर्न लागेको वीरेन्द्रनगरमा सुविधा सम्पन्न बसपार्क नहुँदा कुरुप बन्दै गएको छ । अर्काेतर्फ सवारी दुर्घटनाको समेत उच्च जोखिम छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार हाल वीरेन्द्रनगरमा २० हजार सवारी साधन सञ्चालन हुने गरेका छन् ।
जसमा १७ हजार मोटरसाइकल बाहेक अन्य तीन हजार बढी सवारी पार्किङ्ग खुल्ला स्थानमा गर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरुको गुनासो छ । हाल सुर्खेतमा प्रयाप्त सवारी साधन पार्किङ्गका लागि फराकिलो बसपार्कको अभाव मुख्य अभाव देखिएको छ ।
सुर्खेतदेखि संघीय राजधानी, भारतको लखनउसम्म गुड्ने सवारीसाधनहरु सुविधा सम्पन्न बसपार्क नहुँदा अस्थायी रुपमा मंगलगढी चौकको पूर्वतर्फको खाली जग्गामा पार्किङ्ग गरिदै आइएको छ । ४० बस पार्किङ्ग गर्न सकिने उक्त अस्थायी बसपार्कमा हाल चार वटा व्यवसायी समितिले काउन्टर सञ्चालन गरेका छन् ।
प्रयाप्त र सुविधा सम्पन्न बसपार्क नहुँदा सवारी साधन असुरक्षित रुपमा पार्किङ्ग गर्नुपर्ने बाध्यता रहेको सवारी धनीहरु बताउँदै आएका छन् । तत्कालिन नगरलाई पुग्नेगरी निर्माण भइरहेको सिटी वसपार्क पनि हाल गुड्ने सवारी पार्किङ्ग चापलाई धान्न नसक्ने देखिएको छ ।
जसले गर्दा सवारीसाधन पार्किङ्गका लागि दीर्घकालिन समस्या समाधानका लागि अधिकार सम्पन्न मानिएको स्थानीय सरकारले प्रदेशस्तरकै बसपार्क निर्माणका लागि आवश्यक रणनीति तयारीमा जुटेको छ ।
सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगरपालिकाले सम्भाव्यता अध्यनका लागि उपयुक्त स्थान खोजी गरेको छ । ‘पहिले नगरपालिकाको क्षमतालाई आधार मानि सिटी वसपार्क निर्माण थालियो’ वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले भने, ‘हाल संघीय संरचनाअनुसार राजधानी भयो, दैनिक सवारी बढीरहेका छन् ।
हालको सिटी बसपार्कले पनि सवारी चाप धान्ने देखिदैन्, तसर्थ उपयुक्त स्थानको खोजी थालिएको छ ।’ नगरपालिकाले नगरको पश्चिम तर्फको बांङ्गेसिमलमा प्रादेशिक बसपार्क निर्माणको विकल्पका रुपमा हेरेको छ । उनले दुई वर्षभित्र विकल्पका रुपमा हेरिएको प्रादेशिक वसपार्क पनि अस्थायी रुपमा सञ्चालनमा आउने गरि नगरपालिकाले काम गर्ने बताए ।
विगत दुई वर्षदेखि निर्माणाधिन वीरेन्द्रनगरको सिटी बसपार्क दशैलगत्तै सञ्चालनमा आउने भएको छ । बसपार्क निर्माण योजना हेरिरहेका नगरपालिकाका इन्जिनियर बिशाल अधिकारीका अनुसार निर्माणको काम अब अन्तिम चरणमा पुगेकाले भदौंको महिनामा सम्पन्न गर्ने तयारीमा रहेको छ ।
सुर्खेतमा गाडी भित्रिएको करिब ३७ वर्षपछि कालोपत्रेसहितको सुविधासम्पन्न बसपार्क पहिलो पटक संचालनमा आउन लागेको हो । १५ महिनामा सम्पन्न गर्ने भनि ठेक्का दिइएको बसपार्क अढाईवर्ष पुग्दा पनि सम्पन्न नभएपछि नगरपालिकाले ठकेदारलाई ताकेता गरेको इन्जिनियर अधिकारीले बताए ।
विसं २०७४ बैशाख मशान्तसम्म सम्पन्न गर्ने गरी ६ करोड चार लाख २३ हजार एकसय ६० मा सम्झौता भएको थियो । तोकिएको समयमा काम गर्न नसकेपछि नगरपालिकाले पहिलो पटक २०७४ चैत्र मसान्तसम्म सक्नेगरी म्याद थप ग¥यो । निर्माण जिम्मेवारी लिएको ठेकेदार कम्पनी चाङमिला नर्सिङ्ग जेभीले थपिएको म्यादमा काम नसके भुक्तानी नदिने बताएपछि दशैंपछि कामलाई निरन्तरता दिएको थियो ।
अहिले करिब ९० प्रतिशत काम सम्पन्न भएको छ । तर यही असार मशान्तसम्म पनि नसक्ने भएपछि भदौंसम्मका लागि भनेर दोस्रोपटक ६ महिनाको म्याद थप भएको अधिकारीले जानकारी दिए । निर्माण कम्पनीले चार करोड ३० लाख भुक्तानी लगिसकेको छ भने, अब तीन करोड ९१ लाख ४४ हजार बाँकी रहेको छ ।
निर्माण कम्पनीका निर्देशक नर्सिङ्ग धामीले आफुले काम गर्नमा कुनै ढिलाइ नगरेको दाबी गरे । पहिलो पटक विभिन्न समस्याका कारण ढिलाई भएपनि दोस्रो पटकको म्यादमा निरन्तर काम गरिरहेको बताए ।
बसपार्कको पूर्वतर्फको नाला व्यवस्थापन गर्नुपर्ने भएपनि पुनः ५५ लाख रुपैयाँ थप भएको थियो । आउँदो भदौसम्म निर्माण सकेर नगरपालिकालाई जिम्मा लगाउने निर्देशक धामीले बताए । उनका अनुसार अहिले निर्माण भएको बसपार्कमा एकैसाथ एकसय वटा गाडीसम्म पार्किङ्ग गर्नसक्ने क्षमता छ ।
यस्तै, व्यवसायका लागि ५५ वटा सटर र १० वटा काउन्टर रहनेछन् । आधुनिक तरिकाले निर्माण भएको वसपार्कको अव फुटपाथ व्यवस्थापनको लागि कार्य भइरहेको धामीले बताए ।