बर्दिया : बाँसगढी,२४ जेठ/ बाँसगढी नगरपालिका समृद्धितर्फ लम्कँदैछ । विभिन्न विकास निर्माणका कामहरु तीव्ररूपमा अघि बढेका छन् । हरित नगर बनाउने अभियानसँगै सफा, हरियाली र समृद्ध नगर बनाउन फोहर व्यवस्थापनसमेत चुस्त ढंगले अगाडि बढाइरहेको छ । हरेक ठाउँको लागि महत्वपूर्ण हुन्छ, त्यहाँको वातावरण ।
सोही वातावरणलाई स्वच्छ र सफा राख्नका लागि महत्वपूर्ण काम भनेको फोहर व्यवस्थापन हो । नगरपालिकाले फोहर व्यवस्थापन अभियानलाई प्रभावकारी बनाउन दैनिकरुपमा बाँसगढी बजार, ककौरा बजार, माछागढ, लखना चोकलगायत विभिन्न स्थानबाट फोहर संकलन गर्छ । दैनिकरुपमा ट्रिपरले फोहर उठाउँछ ।
फोहर संकलन गरेर मानखोलाको फोहोरीया खोला किनारमा रहेको नर्सरीमा खाल्डो खनेर फोहोर व्यवस्थापन गरिँदै आइएको बाँसगढी नगरपालिकाका सूचना अधिकारी शेरबहादुर केसीले बताए । फोहर संकलनका लागि तीनजना फोहर उठाउने र एकजना चालक गरी चार कर्मचारी छन् । बाँसगढी नगरपालिकाले चालू आर्थिक वर्षमा फोहर व्यवस्थापनका लागि १५ लाख बजेट विनियोजनसमेत गरेको छ ।
बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीले बाँसगढी नगरपालिकाको फोहर व्यवस्थापनका लागि प्रयत्नशील रहेको बताए । उनले बाँसगढी क्षेत्रको फोहर व्यवस्थितरुपमा व्यवस्थापन गर्दै सफा नगर बनाउने अभियानमा सबै नगरवासीको साथको आवश्यकता रहेको औंल्याए । उनले बाँसगढीमा निस्किएको फोहर व्यवस्थापनका लागि फोहरमैला व्यवस्थापन केन्द्र बठुवाको जंगलभित्र १४–१५ कठ्ठा जग्गामा तारबारसहितको व्यवस्थित डम्पिङ साइटको निर्माण भइरहेको बताए ।
उनले भने, ‘बाँसगढी नगरभित्रको फोहर नियमित संकलनका लागि केही समयमा दुईवटा ट्रयाक्टरसमेत ल्याइने र नियमित फोहर संकलन गरिनेछ ।’ आफूले उत्पादन गरेको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी नगरवासीको पनि भएकाले आफ्नो घर तथा पसलबाट निस्किएको कुहिने र नकुहिने फोहर संकलन गरी राख्न र फोहर संकलन गर्न आएको गाडीसम्म पु¥याउन आग्रह गरे ।
उनले बाँसगढीमा फोहर संकलन गरेबापत् सामान्य परिवारका लागि ५० रुपैयाँ, अलि धेरै फोहर निस्कने घरलाई एक सय र होटल व्यवसायलाई एक सय ५० रुपैयाँ निर्धारण गरी वातावरण सन्तुलन गर्ने गरी आउँदो साउन महिनादेखि लागू गर्ने तयारीमा रहेको बताए । त्यस्तै बाँसगढी बजारमा फोहर व्यवस्थापनका लागि ५ नम्बर वडा सदस्य हरि पौडेलको संयोजकत्वमा सात सदस्यीय वडास्तरीय फोहर व्यवस्थापन सहयोग समिति बनाएर काम गरिरहेको बताए ।
उनले बजारमा फोहर गर्ने व्यक्तिबाट फोहर गरेबापत् रकम उठाउने विषयमा छलफल भइरहेको समेत बताए । बाँसगढी उद्योग वाणिज्य संघ अध्यक्ष रामसिंह थारुले बाँसगढीको विकास निर्माण, बजार व्यवस्थापन फोहरमैला व्यवस्थापनलगायतका विषयमा योजना बनाएर सहकार्य गर्दै अघि बढ्ने बताए ।
नागरिक समाज सञ्चालन बाँसगढी संयोजक प्रेमप्रसाद शर्माले नगरपालिकाले गरेको पहल कदमीलाई साथ दिने आम नागरिकको दायित्व भएको बताए । उनले प्रत्येक घरबाट निस्किएको फोहरलाई आफ्नो दायित्व सम्झेर निश्चित ठाउँमा राखेर नगरपालिकाको गाडीसम्म पु¥याउन सहयोग पु¥याउनु पर्ने बताए ।
सामाजिक अभियन्ता तथा सिभिल एण्ड इन्भाइरोन्मेन्ट इन्जिनियर कृष्ण पौडेलले नगर सरसफाइ अभियानलाई अझ बढी प्रभावकारी बनाउन प्लाष्टिक झोलाको मात्रा घटाउनुपर्ने बताए । कुहिने प्रकृतिको झोलालाई विकल्पमा प्रयोग गर्दै प्लाष्टिक झोला मुक्त बाँसगढी बनाउने अभियानमा लाग्नुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्