नेपालगञ्ज,३१ वैशाख/ साहित्यकार कल्पना खरेलको कथा संग्रह रागिनीको नेपालगन्जमा एक समारोह बीच विमोचन गरिएको छ । गौरी पब्लिक रिलेशन एण्ड पब्लिकेशनद्धारा प्रकाशित १ सय १० पेजमा २० वटा कथा संग्रहित छन् ।
अन्तर्राष्ट्रिय साहित्य समाज भेरीद्धारा आयोजित कार्यक्रममा प्रसिद्ध साहित्यकार एवं प्राज्ञ प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, प्राज्ञ हरि प्रसाद तिमिल्सिना, निवन्धकार सिर्जन लम्साल, उर्दू सायर जमील हाशमी, अन्तर्राष्ट्रिय साहित्य समाज भेरीकी उपाध्यक्ष अनुपमा करारा विवश र स्वयं कृतिकारले संयुक्त रुपमा विमोचन गरेका थिए ।
प्रमुख अतिथी वरिष्ठ कथाकार रेग्मीले संग्रह विषयवस्तु उठानका दृष्टिकोणले महत्वपूर्ण भएपनि अझैं परिष्कृत गरेर लेखनीलाई निरन्तरता दिन सुझाव दिए । कथाकार खरेलले आगामी दिनमा अझैं परिष्कृत रुपमा लेखनीलाई बढाउने प्रतिवद्धता व्यक्त गरे । ‘रागिनी’ कल्पना खरेलको चौथो कृति हो ।
कृति र कृतिकारबारे शुक्रऋषि चौलागाई, इन्द्र भन्डारी इन्द्रेणी, खगेन्द्र गिरी कोपिला र मिना बरालले चर्चा गरेका थिए । सोही समारोहमा ऋचा लुइटेल, चरित्रा शाह, सन्तोषी विस्ट, श्रीधर भन्डारी, प्रकाश सङ्गम र निरज दाहाल समेतका कविहरुले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए ।
अन्तर्राष्ट्रिय साहित्य समाज भेरीकी उपाध्यक्ष अनुपमा करारा विवशको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रमको सञ्चालन सो संस्थाकी सचिव निशु जोशीले गरेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्