सम्पादकीयः सामाजिक सद्भाव कायम राखौँ



नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो, जहाँ विभिन्न जाति, धर्म, भाषा र संस्कृतिका मानिसहरू एकसाथ बसोबास गर्दछन्। यस्तो विविधतायुक्त समाजमा सामाजिक सद्भाव कायम राख्नु अत्यन्तै महत्वपूर्ण छ । सामाजिक सद्भावले मात्रै देशको विकास र समृद्धिमा योगदान पुग्न सक्छ । नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै विविधता बीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवद्र्धन गर्ने कुरा उल्लेख गरिएको छ । उल्लिखित संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्रसंघको बडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्षराष्ट्र भएका महासन्धिका व्यवस्थाहरूलाई समेत आत्मसात् गर्दै धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न र गराउन सम्बद्ध सबैको कर्तव्य र दायित्वभित्र पर्दछ । केही दिनयता पर्सा जिल्लाको वीरगञ्ज तथा धनुषा लगायतका तराईका विभिन्न जिल्लाहरूमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर पर्ने गरी सामाजिक सञ्जालहरूमार्फत विभिन्न अभिव्यक्तिहरू सार्वजनिक हुनुका साथै धार्मिक आस्थाका केन्द्रहरूमा तोडफोड र आगजनीका घटनाहरू बाहिरिएका छन् ।

वीरगञ्जमा दुई समुदायबीच भएको विवादलाई साम्य पार्नका लागि स्थानीय प्रशासनले कफर््युसमेत लगाउन परेको अवस्था देखिन्छ । एकै समाजमा बस्ने विभिन्न धर्म सम्प्रदायका व्यक्तिहरू संयम बन्न जरुरी छ । एकले अर्काको धर्मलाई सम्मान र आदर गर्न जरुरी छ । आपसी लडाइँ र द्वन्द्वले कसैको पनि हित हुन सक्दैन् । यदी कुनै पक्षले गल्ती गरेको छ भने कानुनअनुसारको दण्ड र सजाय भोग्न तयार हुनुपर्दछ । प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अभिव्यक्ति स्वतन्त्रताका नाममा कुनै पनि तरिकाले गरिने धार्मिक तथा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधि नेपालको संविधान, कानुन तथा मानवअधिकारको मूल्य र मान्यताविपरीत हुन्छ । आफ्ना विमत्ति र विरोधका कार्यहरू गर्दा संविधान, कानुनअनुसार गर्न जरुरी छ । शान्त देश नेपाललाई धमिल्याउनका लागि विभिन्न समयमा विभिन्न नाममा हुलदंगा गराउने कार्य विगतदेखि नै हुने कोशिस भइरहेका घटना पाइन्छन् । जुन अत्यन्त गलत हो । एउटै समुदायमा विभिन्न जात, धर्म, सम्प्रदायहरू मिलेर बसेको अत्यन्तै सुन्दर पक्ष हो । यो सुन्दरतालाई कायम राख्दै सामाजिक सद्भाव बनाइराख्नका लागि सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरुरी छ । सामाजिक सद्भावले समाजमा शान्ति, स्थिरता र समृद्धिको वातावरण निर्माण गर्दछ । जब समाजका सबै सदस्यहरू एकआपसमा मिलेर काम गर्छन्, तब देशले पनि प्रगति गर्दछ ।

सामाजिक सद्भावले गर्दा हामी एकले अर्काको संस्कृति, परम्परा र धर्मलाई सम्झन र सम्मान गर्न सिक्दछौँ । सामाजिक सद्भाव कायम राख्नु नेपाली समाजको मजबुतीको लागि अत्यन्तै आवश्यक छ । हामी सबैले एकले अर्काको सम्मान र सहयोग गर्दै, सामाजिक सद्भावलाई मजबुत बनाउन योगदान पु¥याउनुपर्छ । यसले गर्दा मात्रै नेपालले समृद्धि र विकासको पथमा अग्रसर हुन सक्छ । सामाजिक सद्भावले देशको आर्थिक विकास, शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा सुधार ल्याउँछ । एकआपसमा प्रेम र माया गरौँ । एकले अर्काको धर्म, जाति र भाषाको सम्मान गरौँ। आपसी सहयोग र सद्भाव कायम गरौँ । सामाजिक समस्याहरूको समाधान गर्न एकजुट भएर काम गरौँ । सामाजिक सद्भावको महत्त्व बारेमा जनतालाई जागरुकता फैलाऔँ । सामाजिक सद्भावलाई हानी पु¥याउने कुराहरूको विरोध गरौँ । हामीले आपसमा मिलेर बसेर देशको उन्नतिमा सहभागी हुनुपर्छ । सामाजिक सद्भाव कायम राख्न हामीले आपसी सहयोग, प्रेम र माया राख्नुपर्छ । साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवम् राजनैतिक हिंसा भड्किन सक्ने सम्भावित घटना हुन नदिन सम्बद्ध सबै पक्ष संयमित हुनु आवश्यक छ । सम्बद्ध सबै धार्मिक सम्प्रदायले आपसी सद्भाव र सामाजिक सद्भाव कायम राखौँ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार