मिसन समाचारदाता चैत ८/ कोहलपुर नगरपालिकाको दोस्रो नगर सभा बुधबारबाट सुरु भएको छ । नगर सभामा चारवटा ऐन पेश भएका छन् । सहकारी ऐन २०७४, न्यायिक समितिले उजुरीको कार्बाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४, कोहलपुर नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७४ र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन २०७४ पेश
भएको हो । ती ऐनहरुमा दफावार छलफलपछि पारित हुनेछ । नगर सभाबाट आवश्यकताअनुसार शीर्षकको बजेट रकमान्तर गर्ने, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना प्रदान गर्ने निर्णय गरिएको छ । यस्तै नगरसभाबाट नगर कार्यपालिका (कार्य विभाजन) नियमावली २०७४, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४, नगर सभा सञ्चालन कार्यविधि २०७४, नगर कार्यपालिकाको बैठक सञ्चालनसम्बन्धी कार्यविधि २०७४ र कोहलपुर नगरपालिकाको विनियोजन विधेयक २०७४ आवश्यक संशोधन गरिएको छ ।
नगर सभामा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले नगर सभा सञ्चालन कार्यविधि २०७४, नगर कार्यपालिकाको बैठक सञ्चालनसम्बन्धी कार्यविधि २०७४, नगर कार्यपालिका (कार्य विभाजन) नियमावली २०७४, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४, कोहलपुर नगरपालिकाको विनियोजन विधेयक २०७४ तथा आर्थिक विधेयक २०७४, वारुदयन्त्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४, जनप्रतिनिधिहरुको आचारसंहिता २०७४, निर्णय वा आदेश र अधिकारपत्र प्रमाणीकरण कार्यविधि नियमावली २०७४, शिक्षा नियमावली २०७४ लगायतका ऐन, नियमावली, कार्यविधि, निर्देशिका नगरकार्यपालिकाको बैठकबाट र केही ऐन प्रथम नगर सभाबाट पारित गरी कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । त्यस्तै नगर प्रहरीसम्बन्धी नियमावली २०७४,एफ.एमरेडियो (व्यवस्थापन तथा सञ्चालन)कार्यविधि २०७४, स्थानीय विपद व्यवस्थापन कार्यविधि २०७४, एकीकृत सम्पत्ति कर व्यवस्थापन निर्देशिका २०७४, टोल विकास संस्था समन्वय समिति गठन तथा परिचालनसम्बन्धी निर्देशिका २०७४, कोहलपुर नगरपालिका न्यायिक समिति संचालन कार्यविधि २०७४, स्थानीय राजपत्र २०७४ र वडा नागरिकपत्र तयार गरिएको उनले जानकारी दिए ।
चैत ९ गते बिहान ११ बजेसम्मका लागि नगर सभा स्थगित गरी विषयगत छलफलहरु जारी रहेको छ ।
प्रकाशित मिति : २०७४ चैत ८ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्