कोहलपुर,२७ फागुन/ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन)का केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले राज्यले संस्थागत विद्यालयप्रति बक्रदृष्टि लगाएको बताए ।
नेपालगन्जमा शनिबार भएको नेशनल प्याब्सन बाँकेको १२ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले राज्यले विद्यालयबाहिर रहेका ५ प्रतिशत बालबालिकालाई विद्यालय जाने वातावरण नमिलाई संस्थागत विद्यालयप्रति बक्रदृष्टि लगाएकोप्रति दुःख व्यक्त गरे ।
‘नेशनल प्याब्सन एक विद्यार्थी एक खेलको अवधारणामा अघि बढेको छ,’ उनले भने । यस्तै नेशनल प्याब्सनका पूर्व अध्यक्ष कर्ण शाहीले निर्वाहमुखी शिक्षाबाट अब नचल्ने हँुदा व्यावसायिकता देखाउनुपर्ने बताए । एनप्याब्सन बाँकेमा कुल ६९ विद्यालय आबद्ध छन् ।
कार्यक्रममा सहभागीले बालबालिकाले गुणात्मक शिक्षा प्राप्त गर्ने समान अवसर प्रदान गर्न आवश्यक रहेको बताए । शिक्षा कसले र कसरी प्रदान गर्ने भन्ने भन्नुभन्दा पहिले शिक्षा मानवका लागि अपरिहार्य रहेको बुझ्न आवश्यक रहेको उनीहरूले बताएका छन् ।
लामो समयदेखि द्वन्द्व र हिंसाबाट बालबालिकामा परेको नकारात्मक असर र निजी विद्यालय सञ्चालनमा आइपरेका प्रावधान क्रमश समाप्त हुदै जाने आशा पनि व्यक्त गरिएको छ । साथै नेशनल प्याब्सन बाँकेले प्रदेश र केन्द्रीय कमिटीलाई आफ्नो सम्पत्ति विवरणसमेत बुझाएको छ ।
साधारणसभामा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्ट, केन्द्रीय महासचिव सुवास न्यौपाने, पूर्व उपाध्यक्ष कृष्ण बिसी, प्रदेश नं. ५ संयोजक सुवोध डाँगी, सचिव कुसुम रानाभाट, प्रदेश सदस्य वामदेव आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
एनप्याब्सन बाँके अध्यक्ष कुबेर बस्नेतको सभापतित्वमा भएको कार्यक्रम जिल्ला सचिव श्याम कुँवरले सञ्चालन गरेका थिए ।यसैबीच शनिबार एनप्याब्सन बाँकेको भवन उद्घाटन गरिएको छ । कुल ४० लाखको लागतमा भवन निर्माण भएको एनप्याब्सन बाँकेले जनाएको छ । दुई तले भवनमा आठ कोठा
छन् ।









प्रतिक्रिया दिनुहोस्