फोनबाट धम्काएर पैसा असुली गर्ने गिरोह पक्राउ



कोहलपुर,२४ फागुन/  फोन तथा एसएमएसबाट धम्की दिएर पैसा असुली गर्न खोज्ने गिरोहलाई बाँके प्रहरी पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुर बस्ने ४० वर्षिय रमेश अधिकारी, राप्तिसोनारी–५ का ३२ वर्षिय केशराज भण्डारी, नेपालगन्ज–८ बस्ने ५६ वर्षिय अस्फाक सिद्धिकी, सुर्खेत लेखगाँउ–१ बस्ने ३२ वर्षिय विजय विक्रम शाह, चितवन भरतपुर उप–महानगरपालिका–६ बस्ने १८ वर्षिय बिष्णु तिमिल्सीना र सोही जिल्ला बस्ने १८ वर्षिय कुशल श्रेष्ठ रहेको प्रहरीले जनाएको हो ।

बिगत लामो समयदेखि बाँकेको कोहलपुर र दाङ्गका व्यापारी तथा उद्योगीहरुलाई फोनबाट धम्काउने र पैसा माग्ने गरेको गुनासो आएपछि संघिय इकाई प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रमुख टेक बहादुर तामाङ्गले उनीहरुलाई नेपालगन्जको एक होटलबाट समातिएको हो । सो समुहले अहिलेसम्म कुनै पनि ब्यक्तिबाट रकम असुल नगरको र फोन गरी धम्काउदै गर्दा प्रहरीले पक्रन सफल भएको प्रहरी प्रमुख तामाङ्गले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुलाई भरीपूर्ण गेष्ट हाउसबाट पक्राउ गरेको र बाँकी तीन जनालाई उनीहरुको बयानपछि फरक–फरक ठाउँबाट नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीका अनुसार उनीहरुले मुख्य रुपमा चार जना व्यवसायीहरुसँग भारी मात्रामा रकम माग गरेका थिए ।

चार जना व्यवसायीलाई फोनमार्फत धम्याउँदै जम्मा एक करोड ८८ लाख रुपैयाँ माग गरेको पाइएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २४ गते बिहीबार