24 September 2023  |   आइतवार, अशोज ७, २०८०

प्रदेश ६ : हुम्ला र डोल्पामा सडक पुर्याउने मन्त्रीपरिषद् बैठकको निर्णय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

सुर्खेत,७ फागुन/   प्रदेश ६ को पहिलो बैठक आइतबार सम्पन्न भएको छ । बैठकले सबैभन्दा बढी कृषि कार्यक्रमलाई जोड दिएको छ ।

मन्त्रीपरिषद बैठकले विभिन्न २१ वटा महत्वकांक्षी निर्णयहरु गरेको  छ । प्रदेश ६ लाई पर्यटनको विकास गर्नका लागि रारा कर्णाली पर्यटन महोत्सव २०७५ आयोजना गर्ने निर्णय गरेको छ । प्रदेश समृद्धिका लागि महोत्सव सञ्चालन गर्ने ।

यस्तै जनतासँग मुख्यमन्त्री कार्यक्रम  गर्ने निर्णय गरेको  छ ।  जनतासँग मुख्यमन्त्री कार्यक्रलाई प्रदेशमा प्रभावकारी बनाउने प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।

वातावरण मैत्री हरित अर्थतन्त्र र प्रदेशको मुल मन्त्रका साथ सम्बन्धि मन्त्रालयले काम गर्ने निर्णय गरेको छ । हरितसँग अर्थलाई जोडेर सम्बन्धित मन्त्रालयले काम गर्नेछ । बैठकले ‘गरिब जनताको धन– जडिबुटी, बन्यजन्तु र वन’ भन्ने नाराका साथ कार्यक्रमहरु अगाडि बढाउने निर्णय गरेको छ । सम्बन्धित मन्त्रालयले यस नाराका आधारमा कार्यक्रम बनाउने जनाइएको छ ।

यस्तै रैथाने बालिको संरक्षण, अगार्निक प्रदेशका आधार खडा गर्ने निर्णय पनि पहिलो बैठकले गरेको छ । यस्तै बैठकले भू–उपयोग नीति निर्माण र बस्ति विकास खाका बनाएर काम गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै व्यवसायिक खेतीलाई प्रोत्साहन गर्नका लागि ‘व्यवसायिक खेतीको प्रणालीको प्रोत्साहन, उच्च मूल्य, कृषि बस्तुको उत्पादन’ भन्ने नाराका साथ  कार्यक्रमहरु ल्याउने निर्णय गरेको  छ । बैठकले सहकारी मार्फत कार्यक्रहरु सञ्चालन गर्न पनि जोड दिएको छ ।

मन्त्रीपरिषको बैठकले प्रदेश ६ लाई समृद्ध बनाउन सबैभन्दा पहिले लगानी भित्र्याउन पहल गर्ने निर्णय गरेको छ । प्रदेशमा धेरै चुनौती भएकाले लगानीका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी भित्राउन लगानी मैत्रीको वातावरणसँगसँगै सम्मेलनहरुको आयोजना गर्ने र स्रोत जुटाउने बैठकले निर्णय गरेको छ ।

प्रत्येक गाउँपालिकामा १५ शैयाको अस्पताल बनाउने केन्द्रीय सरकारले बनाएको  नीतिलाई कार्यान्वयन गर्ने,  युवाहरुलाई स्वरोजगार गराउन एक गाउँपालिका एक घरेलु उद्योग कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

हुम्ला र डोल्पामा सडक पुर्याउने पनि बैठकले निर्णय गरेको छ । त्यसैगरी  उत्तर जोड्ने, तीन वटा नाका खोल्ने र समृद्धि प्रदेशका लागि शान्ति सुरक्षा कार्यक्रम गर्ने निर्णय गरेको छ ।

      -ujyaaloonline.com

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     7:35:09 AM  |