कोहलपुर,२५ माघ/ शिक्षक दरबन्दी पुरा नहुँदा पठन पाठन प्रभावित बनेको छ । जानकी गाँउपालिका–१ गनापुरस्थित नेपाल राष्ट्रिय माविमा १० कक्षा सम्म अनुमति पाएर कक्षा सञ्चालन भए पनि शिक्षक दरबन्दी नहुँदा पठन पाठन प्रभावित बनेको हो ।
एसइई परीक्षाको समय तालिका प्रकाशित भइसक्दा पनि विद्यार्थीहरुको विज्ञान लगायतका विषयको पढाई पुरा हुन नसके पछि विद्यार्थी मात्र नभई शिक्षकहरु समेत चिन्तामा परेका छन् । विषयत शिक्षक अभाव भए पनि पठन पाठन भइरहेको प्रअ अयोध्या प्रसाद यादवले बताए ।
कक्षा अनुमति लिदा व्यवस्थापन समितिले शिक्षक राख्ने भनिए पनि आर्थिक अभावका कारण विद्यालयले राख्न नसकेको र जिल्ला शिक्षा कार्यालयमा पटक पटक जाँदा कुनै सुनवाई नभएको यादवले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम फेरन गडरियाले स्थानीय जन प्रतिनिधिहरुले यस विषयमा पहल गर्नुपर्ने बताए । साविकको गनापुर गाविसमा एक मात्र माध्यमिक विद्यालय भएकाले पनि यसको सुधारका लागि सबै लाग्नुपर्ने उनले बताए । माघ २४ गते इन्सेकद्वरा आयोजित विद्यालय र विद्यार्थीको सवालमा बैठक कार्यक्रमका सहभागीहरुले उक्त समस्या राखेका हुन् ।









प्रतिक्रिया दिनुहोस्