रोल्पा/ रोल्पामा कर्न सेलर (मकै छोडाउने मेशिन) निकै प्रभावकारी भएपछि यसको माग बढ्दै गएको कृषक समूहले बताएका छन् ।
विकास सरोकार समाज (डिकोस) रोल्पाद्वारा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन कार्यक्रम (पहल) परियोजनाले जिल्लामा काम गर्दै आएका साविकका छवटा गाविसमा कर्न सेलर प्रदर्शनीपश्चात् वितरण गरेपछि यसको माग बढ्दै गएको हो ।
कार्यक्रम लागू भएका साविकका थबाङ, मिरुल, ह्वामा, धबाङ, फगाम र जेलबाङ गाविसका कृषकले कर्न सेलरको प्रयोग निकै प्रभावकारी बन्दै गएपछि आसपासका छिमेकी कृषक पनि निकै आकर्षित बन्दै गएको बताएका छन् ।
कार्यबोझ घटाउने, समयको बचत हुने तथा मकै समयमै भण्डारण गर्न सजिलो हुने भएको हुँदा कर्न सेलर निकै प्रभावकारी भएको आयआर्जन कृषक समूह रोल्पा नगरपालिका–९ रिस्वाङका ३५ वर्षीय कृषक हर्कमान पुनमगरले बताए ।
यस्तै, सुनौलो कृषक समूह, जेलबाङ, रोल्पाका ३३ वर्षीय राजकुमार रोकाले विगतका दिनमा मकै हातले चुटेको स्मरण गर्दै कर्न सेलरमार्फत सहजै मकैको गेडा छोडाउन सकिने भएपछि आफूहरुलाई छिटो छरितो तथा कामगर्न सहज भएको भन्दै खुशी व्यक्त गरे ।
कृषि क्षेत्रको व्यावसायिकरण बारेमा किसानले नबुझेको हुँदा कार्यक्रम सञ्चालन भएका शुरुशुरुका दिनमा काममा समस्या तथा चुनौती देखिएका थिए । तर पछिल्ला दिनमा कृषकको सक्रिय सहभागिताका कारण पहलद्वारा सञ्चालित सबैजसो कार्यक्रम प्रभावकारी बन्दै गएको पहलअन्तर्गत सञ्चालित कृषि कार्यक्रमका कार्यक्रम अधिकृत सूर्यकिरण डाँगीले जानकारी दिए ।
उनका अनुसार पछिल्ला दिनमा विभिन्न किसिमका तालीम पाएसँगै कृषकमा थप उत्साह देखिन थालेको छ । तर पनि जिल्लाका सबै स्थानमा कृषकको मागअनुसार कर्न सेलर उपलब्ध गराउन नसकेको उनले दुःखेसो पोखे ।
डाँगीका अनुसार कर्न सेलर एक किसिमको यन्त्र हो । यस्ले घोगाबाट मकै छोडाउनमा सहजता ल्याउछ । पुरानो परम्पराअनुसार लाठीले मकै चुट्दा धेरै समय लाग्ने, थकान हुने तथा गाह्रो हुने भएपनि कर्न सेलरले छोटो समयमा सहजै काम हुने भएपछि कृषक यसतर्फ आकर्षित बन्दै गएको उहाँको भनाइ छ ।-रासस









प्रतिक्रिया दिनुहोस्