सल्यान,१४ माघ/ सल्यानमा विकास निर्माणका लागि गठन हुने उपभोक्ता समितिमा बस्दा लालपूर्जा अनिवार्य चाहिने भएको छ ।
सामान्यतया, घरायसी काम वा सरकारी काममा प्रयोग हुने लालपुर्जा जिल्लाको कालिमाटी गाउँपालिकामा उपभोक्ता समितिको सदस्य बस्दा समेत चाहिने भएको हो ।
चालु आर्थिक वर्षमा लागु हुने गरेर नै कालिमाटी गाउँपालिकाको एक नम्बर वडाले यस्तो निर्णय गरेको हो । यो नियमलाई गाउँपालिकाभर नै लागु गरिने कालिमाटीका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले बताए ।
‘जनतासँग जनप्रतिनिधि रेडियो वहस’ कार्यक्रममा वडा नम्बर एकका अध्यक्ष रविलाल वस्नेतले उपभोक्ताहरुलाई थप जिम्मेवार बनाई समयमै दिगो, गुणस्तरीय र प्रभावकारी रुपमा योजना निर्माण गरी सुशासनमा समेत प्रवद्र्धन गर्न जमानीको रुपमा उपभोक्ता समितिका पदाधिकारीहरुको लालपुर्जा राखिने निर्णय आफ्नो वडापालिकाले गरेको बताए ।
उपभोक्ता समितिमा बस्दा समेत अनिवार्य रुपमा लालपुर्जा राख्नुपर्ने व्यवस्था राम्रो भएको भन्दै अव गाउँपालिकाको सबै वडाहरुमा पनि यो व्यवस्था लागु गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीका भनाई छ ।
विगतमा उपभोक्ता समितिमा बस्नका लागि तछाड मछाड गर्ने र दलिय भागबण्डाका आधारमा आउने भएकाले मनोमानी रुपमा काम गर्ने देखिएकोले एक नम्बर वडाले पाँच लाख भन्दा माथिको योजनामा उपभोक्ता समितिमा बस्ने सदस्यहरुलाइ लालपुर्जा राख्ने प्रावधान गराएको हो ।
राजनीतिक आडमै उपभोक्ता समितिका पदाधिकारीहरुले डिजाइन अनुसार कामै नगर्ने, अटेर गर्ने, गुणस्तरीय काम नगर्ने लगायत समस्या देखिएकाले लालपुर्जा धितोको रुपमा राखेमा कामप्रति जिम्मेवार हुने र प्रभावकारी हुने जनाइएको छ ।
‘विगतमा उपभोक्ता समितिका पदाधिकारीहरु कामप्रति जिम्मेवार नभएको पाइएकाले यो अनिवार्य रुपमा लालपुर्जाको व्यवस्था उपयुक्त देखिएको छ, प्रशासकीय अधिकृत खत्रीले भने, ‘तोके बमोजिम काम पुरा नभए लालपुर्जा फिर्ता हुने छैन् ।’ जिल्लाको कतिपय स्थानमा पैसा कमाउने लोभमा गुणस्तरहीन काम गरेर समितिका पदाधिकारीले ठेक्का दिने प्रचलन पनि रहेको छ ।
यसै वीच कालिमाटी गाउँपालिकाले एक नम्बर वडालाइ बेसारमा आत्मनिर्भर बनाउने भएको छ । लक्ष्मीपुर क्षेत्रमा बेसार राम्रो उत्पादन हुने भएकाले किसानहरुलाई आवश्यक सहयोग गरी बेसार उत्पादन बढाउने गाउँपालिकाको योजना छ ।









प्रतिक्रिया दिनुहोस्