पीडित र व्यवस्थापन पक्ष बीच सहमती



भीम रावत : कोहलपुर,६ माघ/   नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको व्यवस्थापन पक्ष र पीडित (मृतक परिवार) पक्ष बीच सहमति भए पश्चात पीडित पक्षबाट आन्दोलनका सम्पूर्ण क्रियाकलापहरु रोकी शव बुझी लिएका छन् ।

सहमति अनुसार शवलाई पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज पठाइएको र अस्पताल सम्म पु¥याउने तथा पोष्टमार्टम पश्चात शवलाई मृतकको घरपरिवार सम्म पु¥याउने अस्पताल व्यवस्थापनले व्यवस्था गर्ने, प्रसुती गराउँदा अस्पतालमा लागेको सम्पूर्ण खर्च अस्पतालले व्यहोर्ने, बच्चा विरामी हुँदा अस्पतालले निःशुल्क उपचार गरिदने सहमति भएको सुरक्षा निकायको तर्फबाट वार्तामा सहभागी रहेका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताएका छन् ।

दैलेख घर भई हाल सशस्त्र प्रहरी बल बागेश्वरी गण ओभरी शम्शेरगञ्जमा कार्यरत सहायक प्रहरी हवलदार लाल बहादुर शाहीकी श्रीमति सिता सिंह शाही यही माघ २ गते बेलुका ६ बजे प्रसुती बेथा लागे पछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिइन् । सिताका पति लाल बहादुर शाहीका अनुसार माघ ३ गते दिउसो १ बजेर ५८ मिनेटमा सामन्य प्रक्रियाबाट सिताले बच्चा जन्माएकी थिइन् ।

बच्चा स्वस्थ जन्मिएकोमा सबै खुशी थिए । तर बच्चा जन्मेको करिब २ घण्टा पछि सिताको रक्तश्राव बढी भएको भनेर चिकित्सकले आइसियुमा राखेको , परिवार र आफन्तलाई रक्तश्राव भएको र सेतो रगत चढाउनु पर्ने अवस्था भएकाले सो रगत धनगढीबाट ल्याउनु पर्ने सल्लाहा दिएपछि परिवार तथा आफन्तहरु रगत ल्याउने प्रक्रियामा रहेकै समयमा माघ ४ गते साँझ अस्पतालले शाहीको मृत्यु भएको घोषणा गरे पश्चात मृतकका परिवार र आफन्तहरु असोभाविक मृत्यु भन्दै आन्दोलनमा उत्रिएका थिए ।

माघ ५ गते अर्थात शुक्रबार दिनभरी मृतकका परिवार र आफन्तहरुले विभिन्न माग राखी आन्दोलन गर्दा सहमति नभए पछि मृतकका आफन्तहरुले तोडफोड समेत गरेका छन् । उनीहरुले वार्ता नमिलेपछि वार्ता बसेकै स्थान प्रशासन कक्षको सिसाहरु समेत तोडफोड गरेका थिए ।

प्रशासनकक्ष, आगन्तुक प्रतिक्षाकक्ष र अस्पतालको मुलढोकाका सिसाहरु सहित तोडफोड हुँदा करिब रु १ लाख बढीको क्षति भएको अस्पताल प्रशासनले बताएको छ । तोडफोड पश्चात पुनः बसेको वार्ताबाट सहमति भई मृतकका परिवारले शव बुझि लिएको ईलाका प्रहरी कार्यालय कोहलपुुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ६ गते शनिबार