बर्दियाका नदी र तालहरुमा जलपंक्षीको गणना कार्य शुरु



बर्दिया,२५ पुस/   बर्दिया राष्ट्रिय निकुञ्ज सहित संरक्षित क्षेत्र र सिमसार क्षेत्रमा पाइने जलपंक्षी गणना शुरु भएको छ । बर्दियाको कर्णाली नदी, बबई नदी, बढैया ताल र सतखलुवा ताल लगायतका क्षेत्रमा आइतबारदेखि जलपंक्षि गणना शुरु भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृित संरक्षण कोष, बर्दिया प्रकृति संरक्षण क्लव र पंक्षी संरक्षण संघको संयुक्त आयोजनामा बर्दियाका विभिन्न नदी, तलाउ तथा सिमसार क्षेत्रमा संरक्षणकर्मी र चराविद्हरुको संयुक्त टोलीले गरेको अनुगमनबाट जल चराको संख्या गणना गर्न लागिएको हो ।

हरेक वर्ष जनवरी ६ तारिखदेखि जनवरी २१ तारिखसम्म विश्वब्यापी रुपमा चरा गणना गरिन्छ । जाडोको समयमा विशेष गरेर जलचराहरु उपयुक्त वातावरणको खोजीमा हिड्ने भएकाले यो समय चराको चहलपहल धेरै हुन्छ । चरा गणनाबाट उनीहरुको बासस्थान, बानी व्यहोरामा कतिको फरक परेको छ भनि तथ्यांक निकालिन्छ ।

अनुगमन टोलीले बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगत कर्णाली नदी, बबई नदी, गेरुवा नदीसंगै बढैया ताल र सतखलुवा ताल लगायतका सिमसार क्षेत्रमा जल पंक्षी गणना गरिने जनाइएको छ । जलपंक्षी गणनामा हिँडेको टोलीले आइतबार सतखलुवा ताल र बढैया तालसम्म पुगेर १ हजार १ सय ६५ चरा गणना गरेको
बर्दिया प्रकृति संरक्षण क्लबका सचिब राजन चौधरीले बताए ।

आगन्तुक जल चराहरुका लागि नेपालकै दोस्रो ठुलो सिमसार क्षेत्र बढैया तालमा साइबेरिया, भारत लगायतका मुलुकबाट चराहरु आउने भएकाले तालको झार हटाउन औषधीको प्रयोग गरेर सफा गर्दा चराको वासस्थान विनास भएको र तालमा माछा खाइदिने डरले चरा भगाउने तर्साउने र व्यवसायको लागि जिल्ला विकास समितिले तालमा माछा मार्न दिने भएकाले चरालाई आहाराको अभाब प्रमुख समस्या रहेको जल चरा गणनाका संयोजक चौधरीले बताए । यो गणनाबाट धेरै हद सम्म जलचराको संख्या र उनीहरुको आहाराको बारेमा समेत तथ्याङ्क तयार हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २५ गते मंगलबार