वन्यजन्तुले गरेको क्षतिको राहत पाउनै मुस्किल



कविन्द्र परियार : कोहलपुर,२५ पुस/   बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले वन्यजन्तुबाट भएको क्षेति भएको राहत पाउनै मुस्किल हुने गरेको पीडितहरुले गुनासो गरेका छन । वन्यजन्तुले नोक्सान गरिदिएको बालीनालीको विवरणको मध्यवर्ती समितिले समयमै तथ्याङ्क संकलन गरे पनि अहिले सम्म कुनै पनि राहत नपाएको स्थानीय बासिन्दाले गुनासो गरेका हुन ।

ढकेरी मध्यवर्ती क्षेत्रका बासिन्दा कर्ण बहादुर खड्काले बदेलले आफ्नो तोरी नाक्सान गरिदिएको र क्षेतिको विवरण भरेर पठाए पनि अहिले सम्म कुनै सुनुवाई नभएको बताए । ‘सायद फाईल नै हरायो होला , राहत पाउनै झन्झिटीलो रहेछ खड्काले भने ।

त्यस्तै सोही मध्यवर्ती क्षेत्रका किसान होम बहादुर खत्रीले आफ्नो २ कठ्ठा खेतमा लगाइएको मकै बदेलले नष्ट गरिदिएको विवरण मध्यवर्ति समितिमा दर्ता गराए पनि अहिले सम्म कुनै सुनुवाई नभएको गुनासो गरे । स्थानीय दल बहादुर खड्काले भने,–‘मेरो पनि खेलमा राम्रो विउ भनेर रु ४ सय प्रति के.जी. पर्ने विउ ल्याएर दुई कठ्ठामा मकै लगाएको थिएँ, निकुञ्जबाट आएका वन्यजन्तुले सबै मकै खाइदिए ,अहिले सम्म कुनै पनि क्षतिपूर्ति पाएको छैन ।’

त्यस्तै कोहलपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका भिम बहादुर डाँगीले २ वर्ष अघि आफ्नो गँहु क्षति गरेको विवरण भरेर उठाए पनि अहिले सम्म कुनै राहत नपाएको बताए ।
ढकेरी मध्यवर्ती उपभोक्ता समितिमा मात्र २ सय ५० जना उपभोक्ताहरुको वन्यजन्तुले गरेको क्षतिको राहत मागको विवरण दर्ता भएको समितिका कर्मचारी लोकमणी गौतमले बताए । बाँके राष्ट्रिय निकुञ्ज भित्र रहेका ९ वटा मध्यवर्ती समितिमा रहेका अधिकाश उपभोक्ताहरुको वन्यजन्तुबाट बालीनाली क्षेतिका विवरणहरु दर्ता गरिएको सम्बन्धित उपभोक्ता समितिका अध्यक्षहरुले बताएका छन ।

खास गरी बदेल, चित्तल जस्ता जनावरहरुले स्थानीयवासीको मकै ,धान,तोरी तथा आलु लगायतका बालीनालीमा क्षेति पु¥याउने गरेका छन । बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द कुमार खड्काले वन्यजन्तुबाट क्षेति भएको मकैबालीको राहातका लागि पहिलो चरणमा १४ लाख निकास भएको र छिट्टै किसानहरुलाई वितरण गरिने बताए ।

‘तोरीको क्षतिको विवरणको कागजात पनि संकलन गर्दै छांै त्यसपछि राहातको लागि पहल गर्छौ खड्काले भने ।’मानव र वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि रु १ करोड रुपैया विनियोजन गरिएको र सो रकमलाई पनि राहतमा वितरण गर्ने तयारी भएको अध्यक्ष खड्काले जानकारी दिए ।

बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तु नियन्त्रणका लागि तारबार समेत सुरु गरिएको उनको भनाई छ । बाँके राष्ट्रिय निकुञ्जको स्थापना भए देखि नै वन्यजन्तुले बालीनाली क्षेति गरेका भए पनि पीडित स्थानीयहरुले राहत पाउन सकेका छैनन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २५ गते मंगलबार