निर्दोष चित्कार



– इन्द्र बहादुर भण्डारी
कोदाको थेचारेको रोटी प्लाष्टिकको कागजमा पोको पारेर ठूलो छोराको झोलामा राख्दै आमाले भनिन् “हाप छुट्टीमा दुईभाइले आधी आधी बाँडेर खनु है, भाइलाई नदेलास् नि । सरासर स्कूल जानु, सरासर घर आउनु, बाटोमा खेल्ने काम नगर्नु, भाइ बाटोमा लोट्ला नि, हेरबिचार गर्नु ।” भन्दै आमाले आफ्ना दुईभाइ छोरालाई विद्यालयको बाटोतिर तेर्साईन् । आफ्ना कलिला दुईवटा आँखाका नानीहरु टुकुटुकु हिड्दै विद्यालय गएको कत्ति सुहाएको । छोराहरु आँखाको ओझेल नपरुन्जेल उनले हेरिरहिन् ।
गोठमा बाँधेको गाई ‘हब्वाँ’ गरी करायो । उनले थाहा पाइन् कि, बुढा घाँसको भारी ल्याएर आईपुगे । हत्त र पत्त घरवाहिर निस्केर गोठतिर फर्केर हेरिन् । हुन पनि रनेले ठूलो घाँसको भारी हल्लाउँदै गोठमा ल्याएर फ्याँक्यो । शिरको टोपी दाहिने हातले समात्दै निधारभरि दलेर आएको पसिनालाई पुछ्यो । श्रीमतिलाई हेरेर खिस्स
हाँस्यो ।
श्रीमतिले पनि हाँसोको उत्तर खिस्स हाँसेर दिँदै भनिन्, बाफरे, आजको भारी त हात्ती जत्रै रैछ है । रनेले घाँसको भारीबाट नाम्लो थुत्दै भन्यो, “कस्ले ल्याएको हो थाहा छैन तिमीलाई ? आटो पकायौ ?” श्रीमतिले पनि आफ्नो कामको बखान गर्दै भनिन्, “अगि नै पकाएर बाबुहरुलाई ख्वाई पियाई स्कूल पठाएँ, अनि हजुरलाई कुरेर बसेको नि, थाहा छ हजुरलाई आज के को तिउन पकाएकी छु ?” रनेले श्रीमतिको मुखमा वाल्ल परेर हेर्यो र भन्यो, “अब तिमीले नख्वाएसम्म मैले कसरी जानु ?”
उनले भित्रबाट लोटाभरी पानी ल्याएर रनेलाई दिँदै भनिन्, “तपाइँलाई सबैभन्दा मनपर्ने सिस्नोको फाँडो पकाएकी छु,” रनेले एक घुट्की थुक निल्दै भन्यो,“ तिमी त्यसै त यति राम्री छेऊ, अझ तिमीले माया गरी खोले पकाएर खान दिए पनि मीठो हुन्छ ।” श्रीमतिको नाक प्वाक्क फुल्यो । उनी श्रीमान्का् कुरा सुनेर फुरुक्क पर्दै घरभित्र प्रवेश गरिन् र भनिन्,“लौ,आउनुस् अब ढिला गरे आटो सेलाउँछ।” रने पनि घरभित्र प्रवेश ग¥यो । किन किन आज उसलाई त्यसै त्यसै काउकुती लागिरहेछ । हुन त बिहे गरेको एक दशक बितिसक्दा पनि उसले श्रीमतिलाई नयाँ बेहुलीलाई माँया गरेझै गरिरहेछ । सुखी घर हुन माँया चाहिन्छ । माँया भए जति दुःख पनि सुख नै हुँदो रहेछ । सन्तुष्ट भए मकैको आँटो र सिस्नोको फाँडो पनि मीठै हुँदो रहेछ । रनेको सुखी परिवार देखेर छिमेकीहरु यस्तै सोच्न बाध्य हुन्थ्ये ।
“ए बाबु हो, तिमीहरु अझै यहीँ छौं ? हेर त घण्टी लाग्ने बेला भईसक्यो । ल रामु , तिमीले भाइको झोला समात म तिम्रो भाइलाई समान्छु ।” भन्दै माष्टर साहेवले रामुको भाइलाई समातेर छिटो छिटो हिड्न थाले । रामु माष्टर साहेवको अघि अघि बुकुर्सी मार्दै दर्गुन थाल्यो । रामु दगुर्दा दगुर्दै टक्क रोकियो । बाटो किनारको चुलेत्राको रुखको एउटा हाँगाले दशहात माथिबाट बाटोलाई नाघेको थियो ।
त्यही हाँगोमा केही झुण्डाईएको थियो । रामुले डराएर माष्टरको मुखमा हे¥यो । माष्टरले बोकेको बच्चालाई भुइँमा राख्दै झुण्डाईएको बस्तुलाई
राम्रोसँग हेरे । रामुको भाइले रामुतिर फर्केर भन्यो, “त्यो के हो सर मान्छे जस्तै ?” मास्टरले उत्तर नदिदै रामुले भन्यो, “पुतली बनाएर झुण्डाएको रै‘छ सर ! यो पुतलीलाई ढुंगाले हान्छु है ।” त्यति बेलासम्म विद्यालय जाने केटाकेटीको ठूलो बथान त्यहाँ जम्मा भयो । मास्टर साहेबले सबैलाई सावधानी गराउँदै भने, “बाबु हो, यो तिमीहरुले खेल्ने पुतली होइन, यो त पुत्ला हो । राज्यसँग लडिरहेका
बिद्रोहीहरुले शासकको पुत्ला बनाएर झुण्डाएका हुन् यसलाई तिमीहरुले चलाउनु हुन्न ।
यस्ता पुत्लाहरुमा बम पनि राखेको हुनसक्छ । बुझ्यौ ?” सबै केटोकटीहरुका आँखामा उत्सुकता र नजानिदो त्रास फैलियो । सबैले टाउको हल्लाएर बुझेको झैँ गरे । मास्टर साहेबले फेरि सबैलाई सचेत गराउँदै भने भने “बेलुकी आउँदा पनि यसलाई कसैले पनि नचलाउनु है । ल हिँड त अब ढिला हुन थाल्यो ।” सबै केटाकेटीहरुले पछि फर्किर्दै, हेर्दै, आफ्ना पाइलाहरुलाई
गह्रुङ्गो बनाउँदै विद्यालयतिर लागे ।
“ए रने दाइ, खाना
खायौ ?”भन्दै पल्लाघरे धने आईपुग्यो । रनेले घर भित्रैबाट भन्यो, “खाएँ, खाएँ, को हो ? पलाघरे धने होस् ?” धनेले भन्यो, “हो, हो, लौ छिट्टै बाहिर आऊ त दाइ ।” दुध चोरेर खाएको बिरालोझँै गर्दै रने घरबाहिर निस्क्यो । रनेलाई देखेर उसले भन्यो, दाइलाई थाहा छ कि छैन कुन्नी ? आज दिउँसो स्कूलमा बैठक छ रे, हामी सबैलाई बोलाउछन्,जानी हैन ?” घरभित्रबाट रनेकी श्रीमतिले भनी, “हो, हो बिहानै स्कूलको पाले दाइले सबैलाई खबर गर्दै आएका थिए । मैले पनि मर्लक्कै बिर्सेकी रहिछु ।”
धनेकी श्रीमतिले बाकसमा पोको पारेर राखिदिएको बिहेको दौरा सुरवाल झिकी । धनेले दौरा सुरवाला लगाउँदै भन्यो,“किन बोलाएका रहेछन् भन्ने तिमीहरुलाई थाहा छैन ?स्कुलाँ धेरै केटाकेटी भए रे । बस्ने कोठा पनि पुगेन रे । पढाउन मास्टर पनि चाहियो रे । बस्नी कुर्चीहरु पनि चाहियो रे । तर सम्बन्धित निकायले वास्ता पनि गरेन रे अब के गर्ने भनेर सल्लाह गर्न आज सबैलाई बोलाएका हुन् ।”
रने र धने विद्यालयतिर
लागे । उनीहरुले पनि बाटोको चुलेत्राको रुखमा झुण्डाईएको पुत्लाई घुमी घुमी हेरे । पुत्लामा लेखेको नारालाई पनि एउटा एउटा अक्षरमा पढे । केहीबेर दुबै जना मरी मरी हाँसे । विद्यालय पुग्दा त्यहाँ धेरै मान्छेहरु जम्मा भईसकेका रहेछन् । त्यहाँ पनि पुत्लाकै बारेमा चर्चा भईरहेको रहेछ । रनेलाई उसको कान्छो छोराले देखेछ । दौडेर आई बाबुको अगाडि उभियो । छोरालाई देखेपछि रनेले ंअँगालो हाल्दै भन्यो, “पढाई छैन ?” छोराले भन्यो, “छ ।”,“त्यसो भए जा बाबु बसेर पढ् ।” भन्दै छोरालाई भुइँमा राखिदियो । त्यत्तिकैमा उसको जेठो छोरो रामु पनि बाबुको अगाडि आएर उभियो । “किन आइस् रामु,पढाई छैन ?” रामुले उत्तर दिँदै भन्यो, “आज स्कूलाँ बैठक छ रे, त्यसैले अब हामी सबैलाई छुटी दिने रे ।” त्यत्तिकैमा ट्याङ् ट्याङ् ……घण्टी पनि लाग्यो । रनेले आफ्नो छोरा रामुलाई सम्झाउँदै भन्यो, “रामु, भाइलाई राम्ररी घरमा लिएर जा है । बाटोमा कतै नखेल्नु नि ।” रामु मुन्टो हल्लाउँलै भाइलाई अङ्गालो हालेर बाटो लाग्न थाल्यो । सबै केटाकेटीहरु
छुटी भएकोमा खुशी हुँदै
घरतिर लागे । केही बेर पछि विद्यालयमा पाका मान्छेहरु मात्रै बाँकी रहेँ ।
विद्यालयमा बैठक सुरु भयो । गाउँका जान्नीसुम्नी भद्र भलाद्मीहरुदेखि सामान्य मान्छेहरु पनि जम्मा भएका थिए । आफ्ना छोराछोरीहरुले पढ्ने विद्यालयप्रति सबैलाई चासो थियो । फेरी आजकल पढाई भन्दा बन्द नै धेरै हुने भएकोले पनि सबै गाउँलेहरु विद्यालयतर्फ चासो राख्न थालेका थिए ।
रनेकी श्रीमति दुधिलाको रुखमा चढेर घाँस खसाली रहेकी थिइन् । उनको मुखबाट बेलाबेलामा गीत पनि
निस्कन्थ्यो । बाटोतिरबाट केटाकेटीहरु कराईरहेको आवाज सुनेर उनले कान थापेर सुन्न थालिन् । अलि तलतिर बाटोमा केटोकटीहरुले कुनै बस्तुलाई ढुङ्गाले हिर्काउँदै खेलिरहेको
कुरा उनले थाहा पाइन् । “आज स्कूलाँ बैठक भएकोले होला छिट्टै छुट्टी भएको । त्यही भएर केटाकेटीहरु बाटोमा खेलिरहेका छन् ।” भन्ने सोँचेर उनी आफ्नो काममा लागिन् ।
विद्यालयमा बैठक चालिरहेको थियो । सबैले आफ्ना सन्तानहरुले पढ्ने विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने कुरामा गम्भीर बिचारहरु प्रकट गरिरहेका थिए ।
रनेकी श्रीमति झण्डै रुखबाट खसिनन् । उनका हात खुट्टा लगलगी काँप्न थाले । विद्यालय एक्कासी थर्रर थर्कियो 
त्यसैगरि सारा गाउँ पनि
थर्कियो । बैठक बसेकाहरु सबै जुरुक्क उठे । सबैले थाहा पाए, बम बिस्फोट भयो भन्ने । बिस्फोटको आवाजसँगै मसिना चित्कारहरु पनि सँगसँगै
चारैतिर फैलिए । सबैजना बिस्फोट भएको ठाउँतिर दौडिन थाले ।
रनेकी रनेकी श्रीमति पनि त्यतैतिर ढैडिन् । एक्कासी उसको अगाडि परिचित झोला देखा प¥यो । हत्त र पत्त उनले झोला खोलेर हेरिन । त्यहाँ उनले
बिहान छोराहरुको लागि तयार पारिदिएको कोदाको रोटी
देखिन् । त्यही रोटी समातेर कुर्ली कुर्ली रुन थालिन् । गाउँलेहरु घाइते बालकहरुलाई अस्पतालतिर दौडाउँदै थिए । बालकहरुको चित्कारसँगै गाउँ रोयो । देशको भाबिष्य अँध्यारो देखियो । अझै पनि गाउँ गाउँले त्यो घाटनालाई बिर्सन सकेका छैनन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २२ गते शनिबार