कोहलपुर, ११ मंसिर/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनको संसदमा दुई तिहाइ बहुमत आउने दावी गरेका छन् । आइतबार बाँकेको राप्तीसोनारी–८ शम्शेरगञ्जमा पार्टी प्रवेश तथा चुनावी सभालाई सम्वोधन गर्दै सो भनाइ व्यक्त गरेका हुन् ।
राप्ती सोनारी–८ राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार एवं लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी स्थानीय तहमा नेतृत्व गर्दै आएका शालिकराम डाँगी र साही पार्टीका क्षेत्रीय समिति उपाध्यक्ष शोभा विसी समेतको नेतृत्वमा २ सय ५० भन्दा बढी स्थानीय तहका राप्रपाका कार्यकर्ताहरु वाम गठबन्धनमा प्रवेश गरेका छन् ।
नव प्रवेशिहरुको तर्फबाट आफ्नो विचार राख्दै शालिकराम डाँगी र शोभा विसीले अब मुलुकलाई आर्थिक संवृद्धि र राष्ट्रियताको पक्षमा वाम गठबन्धनले मात्रै नेतृत्व गर्न सक्ने लागेर वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने अभियानमा सहभागी हुने प्रतिवद्धता सहित नेकपा एमालेमा प्रवेश गरेको बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ नेता गौतमले कम्युनिष्ट त्यो मान्छे लाग्छ जसले निःस्वार्थ भावनाले समाजको सेवा गर्छ भन्दै पार्टी प्रवेश गरेका सबैलाई स्वागत गरेका थिए । गौतमले नयाँ नेपाल निर्माण गर्ने अभियानमा पार्टीले दिने जिम्मेवारीलाई आत्मासाथ गर्दै दृढतापूर्वक लाग्न आग्रह समेत गरे ।
सोही प्रशंगमा गौतमले भने–‘नेकपा एमाले र नेकपा माओवादी केन्द्र एउटै पार्टी जस्तो भइसक्यो, केही प्राविधिक कारणले मात्र अलग पार्टी रहेको हुनले हाम्रा उम्मेदवारहरु अलग–अलग निर्वाचन चिन्ह लिएर चुनावी मैदानमा साझा उम्मेदवारका रुपमा खडा भएका हौं ।’ गौतमले थपे आजकोे आवश्यकता पार्टी एकता अपरिहार्य बनेको छ, पार्टी एकता हुन्छ र एकता भएपछि पार्टी फुटदैन भन्दै ढक्क हुन सबैलाई अनुरोध गरे ।
गौतमको दावी छ, यस पटकको निर्वाचन विकसित र संवृद्ध नेपाल बनाउने अभियान हो । यो अभियान देखेर नेपाली काँग्रेस आत्तिएको छ र उसले कम्यूनिष्टहरुले जिते लोकतन्त्र समाप्त हुन्छ भन्दै भ्रम फैलाई रहेको स्पष्ट पारे । गौतमको जोड थियो वास्तविक रुपमा जनतालाई संवृद्ध र राष्ट्रलाई धनि बनाउने लोकतन्त्र कम्यूनिष्टहरुले मात्र लागू गर्न सक्छन् ।
काँग्रेसले लागु गर्ने लोकतन्त्र भनेको नेताले भाषण गर्न पाउने, भ्रष्टाचार गर्न पाउने र मुठ्ठीभरका सामन्ती शोषकहरुले राज्यसत्ताको दोहन गर्न पाउने लोकतन्त्र हो । त्यस्तो लोकतन्त्र नेपाली जनतालाई नचाहिएको बताए ।
सो चुनावी सभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश्वर गहतराज (अथक) ले नेपाली जनतालाई आशा र भरोसा दिलाउनको लागि पनि दुई ठुला वाम पार्टीबीच संयूक्त गठबन्धन बनाएर साझा उम्मेदवारी दिएको भन्दै आफ्नो राजनीतिक जीवनलाई बच्चादेखि हेरिरहने मानिसको बस्ती यस क्षेत्रमा भएकाले आफ्नो राजनीति त्याग, निरन्तरता र इमान्दारितालाई यस क्षेत्रका जनताले न्याय गर्ने विश्वास रहेको बताए ।
अथकले आफू विजयी भएमा बाँके क्षेत्र नं.१ लाई संवृद्ध बनाउने सपना रहेको भन्दै सो अवसर दिन आफूलाई जिताउन आग्रह गरे । चुनावी सभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नं.१ प्रदेश सभा ‘क’ की कृष्ण केसी (नमूना) र ‘ख’ की उम्मेदवार आरती पौडेलले आफूहरु महिला उम्मेदवार भएकाले विशेष गरी महिलाहरुलाई वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन विशेष भूमिका खेल्न आग्रह गरिन् ।
त्यस्तै समानुपातिक सभासदहरु अशोक रोकाय र मञ्जु काइरालाले पनि मतदाताहरुलाई वाम गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
राप्ती सोनारी–८ को वडा स्तरीय चुनावी सभालाई बाँके क्षेत्र नं.१ निर्वाचन परिचालन समितिका सह–संयोजक नरेन्द्र न्यौपाने, निर्वाचन परिचालान समितिका नरेन्द्र पाण्डे, सुर्य ढकाल, अब्दुल हुसेन खाँ लगायतले आफ्नो धारणा राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्