५० लाखको लागतमा कोहलपुर चौराहको स्वरुप परिवर्तन गरिदै



भीम रावत : कोहलपुर, २१ कात्तिक/  लामो समयसम्म कुरुप अवस्थामा रहँदै आएको कोहलपुर चौराह करिव रु ५० लाखको लागतमा आधुनिक, सुन्दर र आकर्षक पार्कको रुपमा निर्माण हुने भएको छ ।

शनिबार कोहलपुर नगरपालिका र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालि नेपालगञ्ज विच भएको सम्झौताअनुसार प्रालिद्वारा कोहलपुर नगरपालिकाका–११ मा रहेको चौराहलाई सुन्दर आधुनिक रुपमा निमार्ण गर्ने भएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटा र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिका प्रवन्धक केशव न्यौपाने बिच कोहलपुर चौराह निर्माण गर्ने सम्वन्धी सम्झौतामा हस्ताक्षेर भएको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र उपप्रमुख सञ्जु कुमारी चौधरीको रोहवरमा गरिएको सो सम्झौता अनुसार सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले चौराह निमार्ण गरे बापत१५ बर्ष सम्म कोहलपुर चौराह संचालन गर्ने छ । कोहलपुर चौराहमा सद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिलाई गोलाकारको पुर्व, पश्चिम, उत्तर तथा दक्षिण गरी ४ ठाँउमा एक पिलर देखि अर्को पिलरको खण्डमा ४ फिट उचाई नबढने गरी प्रालिको नाम र लोगो सहितको र्बोड राख्न पाउने छ ।

कोहलपुर नगरपालिकाले चौराह संचालनमा आवश्यक पर्ने बिधुत सिचाइँको व्यवस्था गर्नु पर्नेछ । चौराहमा आवश्यकता अनुसार सरसफाई, मर्मत, वगैंचाको हेरचाह गर्न माली आदिको व्यवस्था प्रालिले गर्नु पर्नेछ ।

कोहलपुर चौराहको आधुनिक स्वरुप अत्यन्तै मनमोहक रहने र त्यहाँ चौबिसै घन्टा आधुनिक पानीको फोहरा र बत्तीको व्यवस्था रहने प्रालिका प्रवन्धक न्यौपानेले जानकारी गराएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २१ गते मंगलबार