काठमाण्डाैं, १३ मंसिर/ संयुक्त अरब इमिरेट्स विरुद्ध अर्को साता हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली टोली आज त्यसतर्फ जाँदैछ ।

पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोलीको दुई दिनअघि घोषणा भएको थियो । युएईसँग खेल खेल्नुअघि नेपालले दुईवटा अभ्यास खेल खेल्नेछ ।

नेपालले शुक्रबार अमेरिका र त्यसपछि आइतबार केन्यासँग खेल्नेछ । नेपाल र युइएबीच युएइमै मंसिर २० र २२ गते दुई खेल हुनेछ । । नेपाल र युएई दुवै डिभिजन २ मा घटुवा भइसकेका छन् ।

दोस्रो चरणमा रहेका २० खेलाडीबाट १४ बाहेक ४ वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । वैकल्पिक मध्येका दुई खेलाडी अनिल कुमार साह र जितेन्द्र मुखिया पनि टोलीसँगै युएइ जाने बताइएको छ ।

च्याम्पियनसिपमा नेपाल ९ अंकसहित छैटौं र ६ अंकसहित युएई पुछारमा रहेको छ ।