एजेन्सी, ७ कार्तिक/   पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

गएराति एक समारोहका बीच फिफाले पोर्चुगल एवं रियाल मड्रिडका स्टार खेलाडी रोनाल्डोलाई यो अवार्डबाट सम्मानित गरेको हो । यस वर्ष रोनाल्डोले अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिलका नेइमारलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

३२ वर्षका रोनाल्डोले गएको वर्ष रियल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । फिफाले गत वर्षदेखि बेस्ट फुटबल अवार्ड दिन थालेको हो ।  यसअघि फिफाले बलुन डे ओर भनेर वर्षका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्दै आएको थियो ।

बलुन डे ओर फ्रेन्च फुटबल पत्रिकाले आयोजना गर्दै आएको अवार्ड कार्यक्रम हो । फिफाले दुई वर्ष अघि उक्त पत्रिकासँगका सहकार्य तोड्दै आफैं बेस्ट फुटबल अवार्ड दिन थालेको हो ।  महिलातर्फ नेदरल्याण्ड्सकी खेलाडी लेईके मर्टिन्स उत्कृष्ट फुटबलर बनेकी छन् ।

यसैगरी उत्कृष्ट प्रशिक्षकको अवार्ड रियाल मड्रिडका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले जितेका छन् ।