23 September 2023  |   शनिबार, अशोज ६, २०८०

महिला मतदाता ७६ लाख भन्दा बढी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४  

काठमाडौं १९ असोज, आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिला मतदाताको संख्या ७६ लाख भन्दा बढी रहेको छ ।

निर्वाचन आयोगका अनुसार सात प्रदेशका ७७ जिल्लाका कुल १ करोड ५४ लाख २७ हजार ७३१ मतदाता मध्ये ७६ लाख ५१ हजार ६५ जना  महिलाले मतदान अधिकार पाएका हुन् ।

आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले सात वटै प्रदेशको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता संख्या स्वीकृत गरेको छ ।

२०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

प्रदेश ३ मा महिला मतदाता बढी

निर्वाचन आयोगका अनुसार सात प्रदेशमध्ये महिला मतदाताको संख्या प्रदेश नं. ३ मा सबैभन्दा बढी रहेको छ । कुल ३० लाख ७४ हजार ४१२ मतदाता मध्ये प्रदेश नं. ३ मा महिला मतदाताको संख्या १५ लाख ४८ हजार ६५७ जना रहेको छन् ।
यस्तै सबैभन्दा कम महिला मतदाताको संख्या प्रदेश  नं. ६ मा रहेको छ । जहाँ कुल ८ लाख ८६ हजार ९३३ मतदाता मध्ये ४ लाख २१ हजार ६३ जना महिला मतदाता रहेका छन् ।

यस्तै प्रदेश नं. १ मा २९ लाख ९३ हजार ६६९ जना मतदाता मध्ये महिलाको संख्या १४ लाख ८४ हजार ८८७  रहेकाे छ । प्रदेश २ मा २७ लाख ६७ हजार ३६९ जना मतदाता मध्ये महिलाको संख्या १२ लाख ७० हजार ६७० रहेको छ ।

प्रदेश नंम्बर ४ मा १५ लाख ६८ हजार ८२९ जना मतदाता मध्ये महिलाको संख्या ८ लाख २३ हजार ६६६ रहेको छ भने प्रदेश ५ मा २७ लाख ४० हजार ८४८ मतदाता मध्ये १३ लाख ६३ हजार ४७ महिला मतदाता रहेका छन् । प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता मध्ये ७ लाख ३९ हजार ७५ जना महिला मतदाता रहेका छन् ।

तेस्रो लिङगी मतदाता १७०

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ सय ७० तेस्रो लिङ्गी मतदाता रहेका छन् ।  आयोगका अनुसार प्रदेश १ तेस्रो लिङ्गी मतदाताको संख्या १६ रहेको छ भने २ मा ६५ रहेका छन् ।

प्रदेश ३ तेस्रो लिङ्गी मतदाता ३४ जना, प्रदेश ४ मा १० जना, प्रदेश ५ मा २७ जना, प्रदेश ६ मा २ र प्रदेश ७ मा १६ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

निर्वाचन अधिकृतमा ६ महिला

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि ६ महिलालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ ।  आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ जना नेपाल न्यायसेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

जसअन्र्तगत ६ महिलाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन अधिकृतको रुपमा खटिने भएका छन् ।  प्रदेश नं १ अन्र्तगत झापा निर्वाचन क्षेत्र नं २ को निर्वाचन अधिकृतमा सर्वोच्च अदालतका उप–रजिष्ट्रार इन्दिरा शर्मालाई जिम्मेवारी दिनेभएको छ ।

यस्तै सर्वोच्च अदालतकै इजालस अधिकृत सकुन्तला कार्कीलाई प्रदेश १ अन्र्तगत झापा क्षेत्र नं ५ को निर्वाचन अधिकृत, उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायधिवक्ता मीना गुरुङलाई प्रदेश २ अन्र्तगत महोत्तरी निर्वाचन क्षेत्र नं २ को निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

विशेष सरकारी वलिक कार्यालयका उपन्यायधिवक्ता मोना सिंहलाई प्रदेश नं ३ काठमाडौंको निर्वाचन क्षेत्र नं २ को निर्वाचन अधिकृतको जिम्मेवारी दिने भएको छ ।

सर्वोच्च अदालतका इजालस अधिकृत गीता श्रेष्ठलाई प्रदेश नं ३ काभ्रेपलान्चोक अन्र्तगत निर्वाचन क्षेत्र नं २ को निर्वाचन अधिकृत र राष्ट्रिय सतर्कता केन्द्रकी उपसचिव सरिता रायमाझिलाई प्रदेश नं ५ रुपन्देहिको निर्वाचन क्षेत्र नं ५ को निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय भएको छ ।  उनीहरुलाई असोज १९ गतेबाट लागू हुने गरी नियुक्ति दिइने आयोगले जनाएको छ ।                   महिला खबर

प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४     11:56:09 AM  |