बाँके, १८ आश्विन २०७४/ भारत सरकारले जडिबुटी निकासीमा वस्तु तथा सेवा कर (जिएसटी) समेत लगाएपछि जडिबुटी निकासीमा थप समस्या उत्पन्न भएको छ ।

‘ट्रान्जिट परमिट’ का कारण घट्दै गएको जडिबुटी निकासीमा जीएसटीका कारण थप समस्या आएको जडिबुटी व्यवसायी संघ नेपालले जनाएको छ ।

यसअघि केही बर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएको नेपाली जडिबुटी माथि हाल आएर वस्तु तथा सेवा कर जिएसटी समेत थपिएपछि निकासीमा गम्भीर संकट उत्पन्न भएको जडिबुटी व्यवसायी संघ नेपालका केन्द्रिय अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताए ।

जीएसटीका कारण नेपाली जडिबुटी व्यवसायीहरूले दोहोरो मारमा परेको जनाउँदै उनले ‘ट्रान्जिट परमिट’ का कारण घट्दै गएको जडिबुटी निकासी जीएसटीका कारण झनै घट्ने दावी गरे । सरकारको जडिबुटी नीति व्यवहारिक नहुँदा देश भित्रै र बाहिर विभिन्न प्रकारका अनावश्यक प्रक्रियाहरू पुरा गर्नु परेको र बिभिन्न थरिका कर तिर्नु परेकोले जडिबुटी ब्यवसाय नै धरासायी हुन थालेको अध्यक्ष अन्सारीले बताए ।

जीएसटी लागू भएपछि निर्यात खर्च बढेको जनाउँदै त्यसको सिधा असर जडिबुटी व्यवसायी र किसान दुबैलाई परेको छ ।मध्यपश्चिमका पहाडी र हिमाली जिल्लाका किसानहरूले उत्पादन र संकलन गरेको जडिबुटी नेपालगन्जका व्यवसायीहरूले भारत लगायत तेस्रो देशमा निर्यात गर्दै आएका छन् ।

जडिबुटीको निकासीमा नयाँ कर थपिदा जडिबुटी किसानबाट मूल्य घटाएर जडिबुटी खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको व्यवसायीको भनाइ छ । त्यसले गर्दा किसानलाई समस्या परेकोे छ । जडिबुटी निकासीका लागि सीमानामा पुगेपछि भारतीय पक्षबाट बिभिन्न अवरोध गरिंदा व्यवसायीले जडिबुटी अनुसार किलोको दरले अनाबश्यक खर्च पनि तिर्नु परेको उनिहरूको गुनासो छ ।

सीमानामा भारतीय सुरक्षाकर्मी र कस्टमका कर्मचारीलाई खर्च नदिंदा झन समस्या भै जडिबुटी नाकामै लामो समयसम्म थन्काउनु पर्दा कुहिन थालेपछि अनावश्यक खर्च दिएर निकासी गरि रहेको एक व्यवसायीले बताए । ‘ट्राञ्जिट परमिट’ प्रणाली लागू भएपछि निकासी झन्झटिलो हुँदा अधिकांश व्यवसायीले निकासी नै बन्द गरका थिए । जसले गर्दा धेरै जडिबुटी गोदाममा थन्किएर रहेको छ ।

मागेको पैसा नदिए सीमानामा गाडी लामो समय रोकिने र अनावश्यक रुपमा नै सामान झार्ने गरिएको गुनासो गर्दै जडिबुटी व्यवसायी संघका पूर्व अध्यक्ष मधुकर थापाले यो विषयमा नेपाल सरकार गम्भीर नभएको टिप्पणी गरे ।नेपालगन्ज नाकाबाट भारत, अमेरिका, चीन, पाकिस्तान, बङगलादेश, फ्रान्स, स्विजरल्याण्ड, अष्ट्रलिया, जर्मनलगायतका मुलुकमा जडीबुटी निर्यात हुँदै आएको छ ।

ती मुलुकमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसीलगायतका जडीबुटी निर्यात हुने गर्छ । तर, पछिल्लो समयमा आएर नेपालबाटै जडिबुटीको निर्यात बर्षेनी कम हुँदै गएको जनाउँदै त्यसमा सुधार गर्न व्यवसायीहरूले सरकारसंग आग्रह गरेका छन् ।    – कारोेबारबाट