18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

मेयर पर्खदै कोहलपुर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २१, २०७४  

कोहलपुर, २१ असार / कोहलपुर नगरपालिकाले मतगणनाको छैठौं दिन आज (मंगलबार) जनप्रतिनिधि पाउँदैछ । जनप्रतिनिधिबिहीन रहेको कोहलपुर नगरपालिकामा अब जनप्रतिनिधि चुनिएर आउँदैछन् ।
जनप्रतिनिधि नहुँदा कर्मचारीतन्त्र हावी भएको महसुस गरेका स्थानीयले अब जनप्रतिनिधिलाई सोझै आफ्ना गुनासाहरु सुनाउन पाउनेछन् । साथै नेताहरुले जनतासँग गरेका प्रतिवद्धताहरु नगरपालिकाले जनप्रतिनिधि पाएसँगै क्रमिक रुपमा पूरा हुँदै जाने विश्वास लिइएको छ ।
कोहलपुर नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा छ । माओवादी केन्द्र भने तेश्रो स्थानमा छ । एमाले, कांग्रेस र माओवादीबाट उम्मेदवार बनेका नेताहरुले कोहलपुरलाई विकसित शहरका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
घोषणापत्र हेर्ने हो भने कोहलपुरवासीलाई जुनसुकै उम्मेदवारले जितेपनि घाटा भने
छैन । किनभने सबै दलका घोषणापत्रहरु लगभग उस्तै उस्तै छन् । सबै विषयहरुलाई समेटिएको छ । यद्यपी ती घोषणा गरिएको प्रतिवद्धताहरु पूरा हुनेहुन् भने कोहलपुरले कहिल्यै पछाडि फर्केर हेर्नुपर्ने अवस्था आउने छैन । तर, घोषणा गरिएको प्रतिवद्धताहरु पूरा गर्ने छनक कसले दिन्छ त्यो भने हेर्न बाँकी नै छ ।
बन्द मतपेटिका भित्रको मतपत्रले कसको भाग्य खुल्ने हो ? कोहलपुरवासीको कौतुहलताको विषय बनेको छ । कहिले एमाले त कहिले कांग्रेस अगाडि देखिन्छन् । यद्यपी अहिलेसम्मको मतपरिणाम हेर्दा नेपाली कांग्रेस र एमालेका उम्मेदवार मध्ये एकले बाजी मार्ने लगभग पक्कापक्की भएको छ । कांग्रेस र एमाले जसले जितेपनि मतान्तर भने एकदम कम हुने विश्लेषण गरिएको छ ।
वडा नं. १० को सम्पन्न मतपरिणाम अनुसार नेकपा एमाले नेपाली कांग्रेसका उम्मेदवार भन्दा एक मतले अगाडि छन् । नेपाली कांग्रेसका भानुभक्त भट्टराईले ७६७५ मत ल्याएका छन् भने एमालेका लुटबहादुर रावतले ७६७६ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ५६७२ मत ल्याएका छन् ।
यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी सञ्जु थारुले ५ सय मतले लिड गरिरहेकी छन् । उनले ८५५३ मत, एमालेकी कृष्णा थारुले ८०३६ र माओवादी केन्द्रकी देवी थारुले ४५३४ मत ल्याएका छन् ।
यो समाचार तयार पार्दा सम्म तीन वटा वडाको मत गणना गर्न बाँकी छ । ७, ८ र ९ वडाको गणना गर्न बाँकी छ । वडा नं. ७ र ८ मा एमाले र ९ मा कांग्रेस बलियो देखिएको छ । त्यसैले मतपरिणाम पनि रोमाञ्चक भइरहेको छ ।
यसैबीच मंगलबार सम्पन्न कोहलपुर ११ मा एमालेले बिजयी हासिल गरेको छ । कोहलपुरको मुटुको रुपमा रहेको ११ नं. वडामा एमालेका कर्णबहादुर थापाले जित निकालेका हुन् । यस्तै ६ नम्बर वडामा नेपाली कांग्रेसका रामसोहन थारु र कोहलपुर १० मा नेपाली कांग्रेसका निमबहादुर चलाउने बिजयी भएका छन् ।

प्रकाशित मितिः बुधबार, असार २१, २०७४     12:59:26 PM  |