16 June 2021  |   बुधबार, असार २, २०७८

मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरण गर्न तारबार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २५, २०७४  

कोहलपुर, २५ जेष्ठ / जंगली बँदेल लगायतका अन्य वन्यजन्तुले सताउन थालेपनि राप्ती सोनारी गाउँपालिकास्थित कुसुम बाघखोरमा तारबार लगाउन थालिएको छ । रातको समयमा बँदेलले बालीनाली खाएर क्षति पु¥याउन थालेपछि तारबार गर्न थालिएको हो ।
बाघखोरको २ किलोमिटर क्षेत्रमा मेसजाली लगाइने राजकोट मध्यवर्ती उपभोक्ता समिति उपाध्यक्ष रमेश भण्डारीले जानकारी दिए । ७ लाख ८३ हजारको लागतमा तारबार गर्न लागिएको उनले बताए ।
‘बँदेल आएर बालीनाली खाइदिएर हैरान बनाएको छ’ उनले भने ‘त्यसलाई बचाउन तारबार गर्न थालिएको हो ।’ तारबारको काम अन्तरगत काठका पोलहरु हाल्ने काम भइरहेको छ । चाँडै नै मेसजाली हालेर तारबार गरिने भण्डारीले बताए ।
तारबारमा बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, लालिगुराँस सामुदायिक वन र जेडएसएलले सहयोग गरेका छन् ।
तारबार गरिसकेपछि त्यहाँका ६० घरपरिवार लाभान्वित हुनेछन् । रातको समयमा चौकिदारी गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । तारबारपछि धेरै राहत मिल्ने स्थानीय बताउँछन् ।
बाँके राष्ट्रिय निकुञ्जका अनुसार विभिन्न क्षेत्रमा तारबारको काम अगाडि बढाइएको छ । जंगली जनावर मानव वस्तीमा पसेर नोक्सानी गर्ने गरेको व्यापक गुनासो आउन थालेपछि विभिन्न ठाउँमा तारबारको कामलाई अगाडि बढाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले बताए ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न पनि तारबार आवश्यक रहेको संरक्षणकर्मी कृष्ण चौधरी बताउँछन् । खेतबारीमा लगाइएको बालीनालीमा जंगली जनावरले नोक्सान गर्ने र स्थानीय धपाउन जाँदा विभिन्न किसिमका घटनाहरु हुने गरेको उनी बताउँछन् । वन्यजन्तु र मानव पनि सुरक्षित हुनका लागि मध्यवर्ती क्षेत्रका सबै ठाउँमा तारबार गर्नुपर्ने स्थानीय बताउँछन् ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २५, २०७४     12:36:26 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *