संसद्‍मा ओलीको प्रश्न : कांग्रेस किन मुखमा पानी हालेर बस्छ ?



संसद्‍मा ओलीको प्रश्न : कांग्रेस किन मुखमा पानी हालेर बस्छ ?

‘बुलबुल मछली मुखभरी पानी’

काठमाडौं : एमाले अध्यक्ष एवम् व्यवस्थापिका संसद्‍का सदस्य केपी शर्मा ओलीले नेपाली कांग्रेसको मुखमा पानी हालेर बस्छ भन्दै प्रश्न गर्नु भएको छ।

मंगलबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै ओलीले भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको अवस्थामा पनि नेपाली कांग्रेस र कांग्रेस सभापति शेरबहादुर देउवा नबोलेको भन्दै प्रश्न गर्नु भएको हो ।

संसदमा बोल्दै ओलीले भन्नुभयो, यत्रो लोकतान्त्रिक पार्टी मतपत्र च्यातिएको अवस्थामा पनि किन बोल्दैन ? मैले कांग्रेस सभापति शेरबहादुर देउवाजीसँग दृष्टिकोण मागेँ तर उहाँले जवाफ दिनु भएन ।

ओलीले कांग्रेसतर्फ व्यङ्ग्य गर्दै भन्नुभयो, ‘कांग्रेस बोल्न छोेडेको छ । बुलबुल मछली मुखभरी पानी । मुखमा पानी भए बोल्न मिल्दैन त्यसैले माछाको मुखमा पानी हुन्छ र बोल्न सक्दैन तर किन कांग्रेस मुखमा पानी हालेर बसेको छ ?’

ओलीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भरतपुरमा मतपत्र च्यातिएको विषयमा नबोलेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले मतपत्र च्यातिएको विषयलाई कसरी हेर्नु भएको छ भन्दा प्रधानमन्त्री प्रचण्डले कानुन अनुसार गर्नु भनेको भन्दै त्यसपछि के के भयो प्रष्ट भएको बताउनु भयो ।

प्रचण्डको भनाइमाथि ओलीको व्यङ्ग्य निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार पुनःमतदान गर्ने भन्ने निर्णयप्रति लक्षित थियो ।

– annapurnapost

प्रकाशित मिति : २०७४ जेठ २३ गते मंगलबार