19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

दलित महिला घर निकाला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४  

ठाकुरसिंह थारू, भीमबहादुर सिंह, बाँके/जाजरकोट बाँकेको डुडवा गाउँपालिका कम्दीकी २० वर्षीया सीमा परियारलाई दलित भएकै कारण पति र सासूले घर निकाला गरेका छन् । कम्दीकै प्रेमप्रकाश क्षत्रीले १ वर्षअघि उनीसँग प्रेमविवाह गरेका थिए । उनीहरू केही समय भारतमा बसे । त्यहाँबाट फर्केपछि प्रेमले सीमालाई घर भित्र्याए । तर, केही दिनमै व्यवहार परिवर्तन भयो ।

सासू हीराले दलितले छोएको नखाने र घरमै बस्न नदिने अडान लिएपछि विवाद सुरु भयो । प्रेम पनि आमाकै पक्षमा उभिए । ‘यो दलितलाई घरमा किन राखेको ? उसले छोएको किन खाएको भन्दै धम्क्याउन थाल्नुभयो । उहाँ (प्रेम) ले पनि मैले छोएको खाना छोड्नुभयो,’ आफूमाथिको विभेदबारे जानकारी गराउँदै सीमाले भनिन्, ‘दलित समुदायको छोरी भएकै कारण घरबाट निस्कनुपर्‍यो ।’

यसअघि पनि दलित भन्दै दुव्र्यवहार भएको उनको गुनासो छ । गाउँमा थुप्रै पटक छलफल भयो । प्रहरी कार्यालयमा पनि घटना पुग्यो । तर, प्रहरीका अगाडि प्रेमले ‘घरमै राख्छु’ भन्दै सीमालाई स्वीकारे । ‘घर पुग्नेबित्तिकै फेरि दलित भनेर हेपे । दलित महिला क्षत्रीको घरमा किन आएको भन्दै पीडा दिए,’ उनले पत्रकारमाझ पीडा सुनाइन्, ‘मायाप्रेम गर्दा अछूत भइनँ । अहिले त्यही कुरा लिएर दुव्र्यवहार सहनुपरेको छ । घरबाटै लखेटे ।’

प्रेमले भने कुनै पनि हिंसा नगरेको दाबी गरेका छन् । उनले अझै पनि पत्नीकै रूपमा सीमालाई राखेको बताए । ‘बिहान घरमै थिइन् । के भएर त्यस्तो आरोप लगाइयो जानकारी भएन,’ उनले भने । जाजरकोट त्रिवेणी नलगाड नगरपालिका ३, करुवाकी २५ वर्षीया अमृता विक पनि यस्तै विभेदको सिकार भएकी छन् । उनले ११ वर्षअघि वीरबहादुर पुनसँग बिहे गरेकी हुन् । तर, ‘अछूत’ भन्दै भेरी नगरपालिका २, रिसाङस्थित घरमा पस्न दिइएन । १० वर्षसम्म घरनजिकै छुट्टै कोठा लिएर बस्न बाध्य भइन् । उनीहरूबाट ३ सन्तान पनि जन्मिए ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले पुन र विकलाई ६ वर्षअघि अन्तरजातीय विवाह प्रोत्साहन भत्ताबापतको १ लाख रुपैयाँ पनि उपलब्ध गरायो । वीरबहादुरलाई उनका बाबुआमाले माथिल्लो जातको विवाह गर्न र दलित बुहारी छाड्न दबाब दिन छाडेनन् । १० महिनादेखि अमृता र उनका ३ सन्तानको बिचल्ली छ । बिहेको ११ वर्षपछि वीरबहादुरले उनलाई घरबाट निकाले । पतिले पटक(पटक कुटपिट गरी घर बस्न नदिएको विकले बताइन् । उनी नाबालक ३ सन्तानसहित सदरमुकाम खलंगामा आश्रय लिन बाध्य छिन् ।

‘माइतीबाट ल्याएको २ लाख र प्रोत्साहन भत्ताको १ लाखले खर्च पुग्दासम्म अछूत भइएन । घरभित्र पस्न नपाए पनि पतिबाट राम्रै व्यवहार भएको थियो । छोराछोरी पनि जन्मिए,’ उनले भनिन् । घर निकाला गरेपछि छोराछोरी २ वर्षीय राकेश, ४ वर्षीया विनीता र ६ वर्षीया सुनीता पनि गिट्टी कुट्ने, भारी बोक्ने, दाउरा बोक्नेलगायत मजदुरी गर्न बाध्य भएको अमृताले बताइन् । अहिले उनी सम्बन्धविच्छेद र छोराछोरी लालनपालन खर्चको व्यवस्था मिलाइदिन माग गर्दै अदालत पुगेकी छन् । विकमाथि जातीय विभेद भएको देखिने जिल्ला अदालतका नायवसुब्बा सर्वराज खत्रीले बताए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४     5:35:20 PM  |