दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पारसकुमार राईको शनिबार नै निधन भएको थियो । केही विमान दुर्घटनामा निधन भएका पाइलट रार्इ र सहपाइलट मानन्धरको मृत्य शरीर काठमाडाैंकाे टिचिङ हस्पिटलमा लगिएकाे छ भने एयरहाेस्टेस प्रज्ञालार्इ उपचारका लागि ग्रान्डी अस्पताल लगिएकाे छ ।
विमानमा चालक, सह-चालक र परिचारिका गरी तीनजना सवार थिए ।
को हुन् विमानचालक पारस ?
आकाशमा नौ हजार ६ सय ६८ घन्टा उड्दासम्म विमानचालक ४८ वर्षीय पारसकुमार राईलाई केही भएन । तर, शनिबार दिउँसो १:३० बजे काठमाडौंबाट उडेको गोमा एयरको नाइन एन एके वाइ कल साइन विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरण गर्नै लाग्दा अनियन्त्रित हुँदा दुर्घटनाग्रस्त भयो । विमान अगाडिको भाग भुइँमा जोतिएपछि पाइलट राई गम्भीर घाइते हुनुभयो । घाइते विमानचालक राईलाई उद्धारपछि तत्काल लुक्लाको अस्पतालमा पुर्याइयो तर चिकित्सकले उहाँलाई बचाउन सकेनन् । चिकित्सकलाई उद्धृत गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले भन्नुभयो, ‘एक कुशल पाइलटलाई हामीले गुमायौं ।’
काठमाडौं बूढानीलकण्ठ नगरपालिका चपली निवासी राईका श्रीमती, एक छोरी र एक छोरा छन् । ठूली छोरी पाँच कक्षामा पढ्छिन् भने छोरा कक्षा एकमा । सन् १९६९ जनवरीमा भोजपुरमा जन्मिनुभएका राईले एसएलसी पनि भोजपुरबाटै गर्नुभएको थियो ।सन् २००० तिर हवाई उडानमा प्रवेश गर्नुभएका राई २०१४ अप्रिलबाट गोमा एयरमा आबद्ध हुनुभएको थियो ।
गोमा एयरमा आबद्ध भएपछि मात्र उहाँले एलइटी ४१० को विमान नै १८ सय ४५ घन्टा उडाइसक्नुभएको छ । उहाँको पाइलट लाइसेन्स नम्बर (एडीपीइएल नम्बर) २१९ हो । ट्विनअटर, डोनियर जहाज उडाइसक्नुभएका उहाँले हाल एलइटी ४१० उडाइरहनुभएको थियो । लुक्लामा दुर्घटना भएको जहाज चेकोस्लाभियामा बनेको हो ।
विमान परिचारिका प्रज्ञा
विमान दुर्घटनामा घाइते हुनुभएकी विमान परिचारिका प्रज्ञा महर्जनको लुक्ला अस्पतालमा उपचार भइरहेको छ । दायाँ खुट्टामा चोट लागेको परिचारिका महर्जन कीर्तिपुर निवासी हुनुहुन्छ । उहाँलाई उपचारका लागि काठमाडौं ल्याउने प्रयास भए पनि मौसम प्रतिकूलताका कारण शनिबार सम्भव भएन । ०५२ सालमा जन्मिनुभएकी उहाँ अविवाहित हुनुहुन्छ । उहाँ २०१५ अक्टोबरदेखि गोमा एयरमा आबद्ध हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्