कोहलपुर, १८ बैशाख / मधेशी मोर्चा र सरकारवीच दुई चरणमा निर्वाचन गर्ने सहमति भएपछि बाँकेमा निर्वाचनका पूर्वनिर्धारित कार्यक्रममा फेरबदल गरिएको छ । गाउँपालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालय समेत बन्द गरेर कर्मचारीहरु फिर्ता बोलाइएको छ ।
मतदाता शिक्षा स्वयमसेवकहरुलाई पनि घरदैलो अभियान संचालन स्थगन गरी पुनः पठाइने भएको छ । तराई मधेशमा पर्ने बाँके जिल्लामा पनि दोस्रो चरणमा निर्वाचन हुने भनिएपछि पहिलो चरणका लागि पूर्वनिर्धारण गरिएका कार्यक्रम फेरबदल हुँदा निर्वाचनका गतिविधिमा सुस्तता देखिएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय, नेपालगन्जका सूचना अधिकृत काशीलाल अधिकारी आयोगको निर्देशन अनुसार जेठ ५ गतेदेखि पुनः पठाउने गरी मतदाता शिक्षा स्वयमसेवकलाई फिर्ता बोेलाइएको र गाउँपालिकाहरुमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालय हाललाई बन्द गरी कर्मचारी फिर्ता बोलाइएको जानकारी दिए । निर्वाचनका अन्य गतिविधि आयोगको निर्देशन अनुसार संचालन गरिने उनले बताए ।
बैशाख ३१ गतेका लागि तीव्ररुपमा तयारीमा जुटेका दलहरुका निर्वाचन गतिविधिमा केही सुस्तता आएको छ । स्थानीय तहको संख्यामा वृद्धि हुने संकेत आएपछि तय भइसकेका कतिपय निर्वाचनका कार्यक्रममा समेत प्रभाव पर्ने देखिएको छ भने उम्मेदवारी तय गरेका दलहरुले प्रचारप्रसारका लागि समय बढेको भए पनि दुई चरणमा निर्वाचन गर्दा खर्चिलो मात्र नभई पारदर्शितामा समेत शंका उत्पन्न हुने प्रतिक्रिया दिएका छन् ।
८ वटा स्थानीय तह रहेको बाँकेमा साविकको अवस्थामा निर्वाचन गतिविधि तीव्र बनाइएको थियो । दलहरुले अधिकांश ठाउँका उम्मेदवार चयनसमेत गरिसकेका छन् ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १८, २०७४