24 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

छतसँगै खसेको आगोले तीन जनाको ज्यान गयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १२, २०७४  

कोहलपुर, १२ बैशाख / राती ११ बजे घरभित्र गहिरो निद्रामा सुतेको अवस्थामा लागेको आगलागीसंगै उद्धार हुन नपाएरै राप्तीपारीस्थित डुरुवागाँउपालिका—१ पुडुवागाँउमा एकै घरका तीन बालकको ज्यान गएको छ । आगोसंगै खसेको फुसको घर
छत र आगोले पुरिँदा स्थानीय मुन्सी मौर्यका दुई छोरी र एक छोराको मृत्यु भएको हो । आगलागीबाट मृत्यु हुनेमा मौर्याका छ बर्षीय छोरा पवन मौर्य, १० बर्षीया छोरी सोनी मौर्य र ८ बर्षीय छोरी रामनी मौर्य रहेका छन् । उनीहरुको घटनास्थलमा मृत्यु भएको हो ।
रात्री १० बजे छोराछोरीलाई खाना खुवाई सुताएर छिमेकीको थ्रेसरबाट गहुँ भित्र्याउन गएका बुवा मौर्याले गएको एक घण्टामा तीन सन्तान गुमाएका छन् । गएको भदौमा सुत्केरी बेथाकै क्रममा उनीकी पत्निको मृत्यु भएको थियो ।
तीन सन्तानको आगोलागीबाटै एकै चिहान भएपछि उनी बेहोस् छन् । हावाहुरीसंगै भएको आगलागीबाट अन्य सात घर समेत जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीय धनिराम यादब, लक्षु मुराउ, गोबर्धन मौर्य, शोभाराम मुराउ, त्रिभुबन मौय, मिनादेबी मुराउ, रामदुलारे मुराउ , बिरेन्द्रपाल मौर्य , मालती यादब, नन्कु मुराउ र राजेन्द्र मिराउको घर जलेर नष्ट भएको बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले बताए । आगलागी आठ लाख २० हजार बराबरको क्षती भएको उनले जानकारी दिए ।
स्थानीय रामदुलारे मौर्यको फुसले छाएको घरबाट निस्केको आगोले गाउँको ८ घरमा क्षती पुर्याएको उनले भने । नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानिय जनाताको सहयोगमा आगो दुई घण्टापछि नियन्त्रणमा आएको थियो । प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सोमबार पीडित परिवारलाई जनही नगद १० हजार, त्रिपाल, खाद्यन्न, भाडाकुडा वितरण गरिएको बताए । पीडित परिवारका लागि राहात सहयोग आवश्यकता अनुसार गरिने उनले भने । मानवीय कमजोरीका कारण आगलागीबाट ठूलो क्षती भएको हो ।

बाक्लो बस्ती, अधिकाश घरको छाप्रो, फुस भएकोले यहाँ लाखौ क्षती र मानवीय नोक्सानी भएको बताएको छ । ढोकातिरबाट सल्किएको आगोबाट बाहिर निस्कन डराएका उनीहरुलाई हेर्दाहेर्दै छत र आगोले पुरेको स्थानीय बताउँछन् । हावाहुरी धेरै चलेकोले स्थानीयले बालबालिको उद्धार गर्न भ्याएनन् ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १२, २०७४     11:20:14 AM  |