23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

माओवादी केन्द्रले घोषणा ग¥यो उम्मेदवार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १०, २०७४  

कोहलपुरमा नरेन्द्र न्यौपाने र बाँसगढीमा विनाराम थारु

कोहलपुर, १० बैशाख / नेकपा (माओवादी केन्द्र)ले बाँकेका ६ वटै गाउँपालिका र कोहलपुर नगरपालिकामा प्रमुख तथा उपप्रमुखका उम्मेदवार घोषणा गरेको छ । कोहलपुर चौराहामा शनिबार घोषणासभा गरी उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको हो ।
कोहलपुर नगरपालिकाको प्रमुखमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष तथा युवा नेता नरेन्द्र न्यौपाने र उपप्रमुखमा देवी थारुलाई उम्मेदवार बनाइएको छ ।
राप्ति सोनारी गाउँपालिकाको अध्यक्षमा पूर्व सभासद् पट्टु थारु र उपाध्यक्षमा आस्माली पुनलाई उम्मेदवार बनाइएको छ । यस्तै बैजनाथ गाउँपालिकाको अध्यक्षमा राजमोहन थारु र उपाध्यक्षमा मिना वली, खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक तुफान र उपाध्यक्षमा फिरोज बानो खाँ, जानकी गाउँपालिकाको अध्यक्षमा रक्षाराम बर्मा र उपाध्यक्षमा पुष्पा खटिकलाई उम्मेदवार बनाएको छ ।
यस्तै माओवादीलबाट डुडुवा गाउँपालिका अध्यक्षमा भोला यादव, उपाध्यक्षमा प्रेमा कुमारी शाही, नरैनापुर गाउँपालिका प्रमुखमा मेराज अहमद खाँलाई अध्यक्ष र सविना बेगम मुकेरीलाई उपाध्यक्षको उम्मेदवारी घोषणा भएको छ ।
मओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरपालिकामा भने घोषणा गरेको छैन । यता नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार अझैं टुंगो लगाउन सकेका छैनन् ।
छलफल र बहसपछि नेकपा (माओवादी केन्द्र) बर्दियाले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ । जिल्लामा ८ वटा स्थानीय तह रहेका छन् । तर पार्टीको आन्तरिक विवादका कारण माओवादी केन्द्रले ६ वटा स्थानीय तहका उम्मेदवारहरुको मात्र नाम सार्वजनिक गरेको छ ।
ठाकुरबाबा र बाराबर्दिया नगरपालिकामा मेयर, उपमेयरको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
पार्टी भित्रकै छलफलमा कुरा नमिलेपछि दुई नगरपालिकामा उम्मेदवार पछि घोषणा गर्ने गरी ६ वटा स्थानीय तहको उम्मेदवारको आधिकारिक नाम सिफारिस गरेको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तिलक शर्मा ‘हिमाल’ले बताए ।
इन्चार्ज हिमालका अनुसार सदरमुकाम गुलरिया नगरपालिकाको मेयर पदका लागि गेहेन्द्र ढकाल र उपमेयर पदका लागि मोहन कुमारी (मिथिला) फुँयाललाई उम्मेदवार तोकिएको छ । मधुवन नगरपालिकामा मेयर गणेश केसी र उपमेयर शुभरानी थारु रहेका छन् । यसैगरी राजापुर नगरपालिकाको मेयर पदमा दिपेश थारु र शिवप्रसाद थारुको नाम सिफारिस गरिएको छ । भने उपमेयर पदमा मनकला थारुलाई उम्मेदवार सिफरिस गरिएको छ ।
बाँसगढी नगरपालिकाको मेयर पदमा विनाराम थारु र उपमेयर पदमा भूमी विक छन् । गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा वेगराज थारु, उपाध्यक्षमा लिला थारु र बढैयाताल गाउँपालिकामा अध्यक्ष लल्लुराम थारु उपाध्यक्ष राधा आचार्यको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र जिल्ला कमिटिले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकामा कृष्णा थारु ‘आस्था’ र नेत्र आचार्य दुबै जनाले मेयरमा दावी गरेकाले पार्टीले टुंगो लगाउन नसकेको बताइएको छ । पार्टी इन्चार्ज तिलक शर्मा ‘हिमाल’ले दुई मध्ये कसलाई मेयर र कसलाई उपमेयर दिने भन्ने बारे छलफल भइरहेको बताएका छन् । यसैगरी बाराबर्दिया नगरपालिकामा मेयरमा दुर्गाबहादुर थारु ‘कविर’ र अञ्जु दहितले मेयरको दावी गरेपनि पार्टीले टुंगो लगाउन सकेको छैन ।
बर्दियामा नेकपा एमालेले भने मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरिसकेको छ । नेपाली कांग्रेस र राप्रपाले अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

प्रकाशित मितिः आइतवार, बैशाख १०, २०७४     1:36:09 PM  |