19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

हतियार बुझाउन पुनः आग्रह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ९, २०७४  

कोहलपुर, ९ बैशाख / जिल्ला प्रशासन बाँकेले तेस्रोपटक सूचना जारी गरी एक हप्ताभित्र हतियार बुझाउन आग्रह गरेको छ । लाइसेन्स प्राप्त हतियार बुझाउने समय बैशाख १५ गते तोकिएको हो । अहिलेसम्म जम्मा ३२ वटा हातहतियार मात्र जिल्ला प्रशासनमा बुझाइएको छ ।
आर्थिक बर्ष २०७३÷०७४ मा जिल्ला प्रशासन बाँकेमा ७ सय ९८ ओटा लाइसेन्स प्राप्त हात हतियार दर्ता र नविकरण रहेका छन् । गृह मन्त्रालयको अन्तिम सूचना जारी गर्दा समेत हात हतियार प्रशासनमा नबुझाउँदा प्रशासनलाई हतियार संकलन गर्न चुनौती देखिएको छ ।
स्थानीय तहको निर्वाचनका अगावै लाइसेन्सप्राप्त हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बाँकेले तेस्रो पटक सार्वजनिक सूचना जारी गरेको
हो ।
यसअघि २०७३ चैत २४ र २०७४ बैशाख ५ गतेभित्र हतियार बुझाउन समय सीमा तोकिएको थियो । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन निर्वाचन अवधिभर लाइसेन्स प्राप्त हतियार बुझाउन आग्रह गर्दै प्रशासनले आगामी बैशाख १५ गतेको अन्तिम समय दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्तले बताए । लाइसेन्स प्राप्त हतियार बन्दुक, पेस्तोल , भरुवा बन्दुक, एकनाले तथा खुकुरी लगायतका हतियार नजिकको प्रहरी र प्रशासनमा बुझाउन उनले आग्रह गरे ।
जिल्ला प्रशासन कार्यलयले बैशाख १५ गतेसम्म घरघरमै पुगी हतियार बुझाउन आग्रह गरिरहेको छ । बैशाख १५ गतेभित्र हतियार नबुझाई हातहतियार खरखजाना ऐन २०१९ को दफा ५ क अनुसार कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख ९, २०७४     11:46:40 AM  |