19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

विद्यालयको बोझ विद्यार्थीमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४  

विद्यालय विकास सहयोगको नाममा रकम असुली

 

कोहलपुर, ७ बैशाख / बाँसगढीमा अधिकांश सामुदायिक विद्यालयहरुले विद्यालयको बोझ विद्यार्थीहरुमा थुपार्ने गरेका छन् । विद्यालय घाटामा रहेको भन्दै प्रत्येक वर्ष विद्यालय विकास सहयोगको नाममा महंगो भर्ना शुल्क असुली रहेका छन् ।
सरकारले कक्षा १० सम्म निःशुल्क र आधारभुत शिक्षा पूर्ण निःशुल्क भनेतापनि विद्यालयले तोकेको शुल्क नतिरी विद्यार्थीहरु भर्ना हुन पाइरहेका छैनन् । विद्यालयमा गठन भएको विद्यालय व्यवस्थापन समिति र अभिभावक सहितको भेलाले विद्यालयको अवस्था अनुसार अभिभावकहरुबाट सहयोग लिनु पर्नेमा विद्यार्थी भर्ना हुँदा नै विद्यालय विकास सहयोगको नाममा रसिद काटी भर्ना शुल्क लिइरहेको पाइन्छ ।
विद्यालयको यस्तो निर्णयले कति आर्थिक अवस्था न्युन रहेका अभिभावकहरुलाई आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गर्न समेत धौ–धौ भएको छ । यसको ज्वलन्त उदाहरण बर्दिया बाँसगढी नगरपालिकामा रहेका जनता मावि बेलवा पनि हो ।
बुधबार मात्रै अभिभावकहरुले विद्यार्थीहरुको निःशुल्क भर्ना हुनु पर्ने भन्दै विद्यालयमा संयुक्त निबेदन दर्ता गराएका छन् । विद्यार्थी भर्ना हुन आउँदा विद्यालय विकास सहयोगको नाममा विद्यालयले महंगो शुल्क असुली गरेको भन्दै अभिभावकहरु आफ्ना बालबालिकाहरु निःशुल्क भर्ना हुन पाउनु पर्ने माग सहित विद्यालय व्यवस्थापन समिति र प्रअको नाममा संयुक्त निवेदन दर्ता गराएको अभिभावक हेमराज शाहीले बताए ।
अभिभावक भेलाको निर्णय बिना एकलौटी रुपमा विद्यालय विकास सहयोगको नाममा भर्ना शुल्क लिइरहेकाले विद्यार्थीहरुको निःशुल्क भर्ना नगरिए विद्यालयमा तालाबन्दी गर्ने समेत चेतावनी दिएका छन् । उनीहरुले विद्यार्थीहरुको निःशुल्क भर्ना गरिनु पर्ने र विद्यालय व्यवस्थापन समिति अभिभावक सहितिको भेलामा विद्यालय यर्थाथ समस्या दर्शाई अभिभावकको तर्फबाट गर्न सक्ने सहयोग गर्न तयार रहेको बताएका छन् ।
अभिभावक ज्ञानबहादुर केसी, हेमराज शाही, ठेरी बिक लगायतको नेतृत्वमा संयुक्त हस्ताक्षरित निबेदन दर्ता गराईएको छ । निबेदन दर्ता सँगै बुधबार नै व्यवस्थापन समिति र शिक्षक सहितिको आकस्मिक बैठक बसेको जनाइएको छ ।
स्कुलले विद्यार्थी भर्ना हुदा विद्यालय बिकास सहयोग शिर्षकमा १ देखि कक्षा ३ सम्म ३ सय ४ देखि ५ कक्षासम्म ५ सय, कक्षा ६ को ९ सय, कक्षा ७ को १ हजार, कक्षा ८ को १ हजार १ सय, कक्षा ९ को १ हजार ३ सय र कक्षा १० मा भर्ना हुँदा १ हजार ४ सय शुल्क लिइरहेको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४     1:09:01 PM  |