काठमाडौँ २ वैशाख / आफ्नो घरजग्गा जालझेल गरेर अर्कैले बेचिदिएपछि घरबारविहीन अवस्थामा पुगेका पीडित मानबहादुर लिम्बूले न्यायको निम्ति अपिल गरेका छन् । शनिबार रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी पीडित लिम्बूले आफूलाई न्याय दिलाउन सबैसँग अपिल गरेका हुन् । पुर्ख्यौली घर ताप्लेजुङ, थेचम्बु–४ रहेका लिम्बू केही वर्षदेखि ललितपुर इमाडोलमा घर बनाई बस्दै आएका छन् । आफूलाई घरव्यहार चलाउन खर्च आवश्यक परेपछि उनले आफूसँग भएको आठाना जग्गा १५ लाख रुपैयाँमा बैंकमा धितो राखेका थिए । पछि छिमेकीले आफ्नै जग्गा साँधमा रहेको दुई आना तीन पैसा जग्गा बेच्ने भएपछि उनले थप २० लाख रुपैयाँ ऋण लिए ।
ऋण लिनको लागि चिनजानमा रहेका कुपण्डोल निवासी विनोदबहादुर खड्कासँग सल्लाह गरे । तर, ऋण लिन खड्काले धितो रहेको जग्गा आफ्नो नाममा राजीनामा गरिदिन अनुरोध गरे । लिम्बू पनि खड्काको विश्वासमा परी आफ्नो नाममा रहेको आठ आना जग्गा राजीनामा पास गरिदिए । जग्गा लिएपनि बीचमा थप ७ लाखका लागि लिम्बूले खड्कालाई नै गुहारे । खड्काले पैसा चाहिए अर्को दुई आना तीन पैसा जग्गा पनि आफूलाई राजीनामा करार गरिदिएमात्रै पैसा दिने बताए । यसपछि लिम्बूले थप दुई आना तीन पैसा जग्गा पनि खड्कालाई राजीनामा करार गरी दिए ।
पछि ऋण चुक्ता गर्न बैंकले ताकेता गर्न थालेपछि सोही जग्गा बेच्ने निधो गरे । ‘बैंकको लोन तिर्न हामीले एक करोड ११ लाख रुपैयाँ माजग्गा बेच्यौं’, लिम्बूले पत्रकार सम्मेलनमा भने, ‘बैंकको ऋण तिरेपछि उभ्रिएको पैसा खड्काले आफूले चलाइराख्ने र पछि तिर्ने शर्त राखे । मैले पनि दिएँ ।’ यसपछि खड्का सम्पर्कविहीन हुन थाले । सम्पर्क गर्दा पनि फोन नउठाउने गर्न थाले । तर, आफू बसिरहेको घरजग्गा अर्कैले दाबी गरिदिएपछि उनी छाँगाबाट खसेझैँ भए ।
हाल उनले साबिक भोगचलन गरिरहेको घरजग्गा तीन–चार जनाबीच किनबेच भइसकेको छ । उनले खड्काबाट ठगिएको महसुस गरेपछि न्यायलय धाए । ‘तर, अदालतले मसँग खड्कासँग गरिएको करार कागज हुँदाहुँदै पनि हराइदियो’, उनले दुःखेसो गरे । हाल उनी जिल्ला अदालत र पुनरावेदन अदालतमा समेत सो मुद्दा हारेपछि सर्वोच्च धाउने अन्तिम अवस्थामा छन् । घरजग्गा खाली गर्न धम्की आउने गरेकाले शान्तिसुरक्षा र न्यायको लागि उनले पत्रकार सम्मेलनमा अनुरोध गरेका छन् ।