16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

कोहलपुरमा एनटिभी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २, २०७४  

कोहलपुर, २ बैशाख /नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्र शुक्रबारबाट पुनः सुरु भएको छ । बन्द अवस्थामा रहेको सो प्रशारण केन्द्र बाह्र वर्षपछि पुनः सुचारु भएको हो । नववर्ष २०७४ को अवसर पारेर सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले कोहलपुर प्रशारण केन्द्रको शुभारम्भ गरे । उनले विसंगती, विकृतिका विरुद्ध टेलिभिजन सशक्त रुपमा आवाज उठाउने बताए । उनले पिछडिएका वर्गको उत्थानका लागि टेलिभिजनले बढी भन्दा बढी कार्यक्रमहरु प्रशारण गर्ने बताए । ‘कर्णालीको विकास भएको दिन कुनै पनि ठाउँ पिछडिएको हुने छैन’ उनले भने ‘जहाँ जहाँ उज्यालो पुग्छ, त्यहाँ अन्धकार हट्दै जान्छ, त्यो भूमिका टेलिभिजनले
खेल्नेछ ।’
मध्य तथा सुदूरपश्चिमको प्रवेशद्वारका रुपमा रहेको कोहलपुरमा कोहलपुर प्रशारण केन्द्रले सबै जातजाती, भाषा, धर्मका मानिसहरुलाई टेलिभिजनको पहुँचमा पु¥याउने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपाल टेलिभिजनका महाप्रवन्धक गोविन्द रोका
(सचिन)ले कोहलपुर प्रशारण केन्द्र स्वायत्त संरचनाको रुपमा रहेको बताए । उनले केही तोकिएका कार्यक्रम बाहेक अन्य कार्यक्रमहरु स्थानीय स्तरमै उत्पादन हुने बताए । उनले नेपाल टेलिभिजनलाई विश्वको जुनसुकै ठाउँमा हेर्न सकिने प्रविधि पनि भित्र्याइएको बताए । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, कोहलपुर प्रशारण केन्द्र संचालन संयोजक प्रकाशजंग कार्की, कोहलपुर प्रशारण केन्द्रका प्रमुख विजय वर्मा, लगायत बाँकेमा रहेका विभिन्न राजनितिक दलका प्रतिनिधिको उपस्थिति थियो ।
कार्यक्रम नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहालको सभापतित्वमा भएको थियो ।

प्रकाशित मितिः शनिबार, बैशाख २, २०७४     12:33:03 PM  |