19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

किन घटेन हात्तीपाइले संक्रमितको संख्या ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ३, २०७३  

सातौं चरण अन्तरगत चैत्र ५ देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

कोहलपुर, ३ चैत्र / बा“केमा अझै पनि १६ प्रतिशतमा हात्तीपाइले (फाइलेरिया) को संक्रमण भएको देखिएको छ । छ वर्षसम्म लगातार हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन गराइदै आएपनि बाँकेमा भने संक्रमितको संख्या कम हुन नसकेको हो ।
बाँकेको तत्कालिन रझेना र नेपालगञ्जमा गरिएको अध्ययन अनुसार १६ प्रतिशतमा अझैं पनि हात्तीपाइलेको संक्रमण रहेको देखिएको हो । ६२४ जनामा नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको थियो । जसमा ५४ जना महिला र ४५ जना पुरुष रहेका छन् ।
यो रोग विरुद्धको औषधिका बारेमा फैलाइएको नकारात्मक भ्रम र जनचेतना अभावका कारण संक्रमितको संख्या कम हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै बिगतका बर्षमा पोका पारेर घरमै लगेर औषधी दिँदा सर्वसाधारणले नखाएका कारण हात्तीपाइलेको प्रभाव नघटेको कार्यालयको भनाई रहेको छ ।
हात्तीपाइलेको प्रभाव जस्ताको तस्तै भएपछि बाँकेमा पुनः अभियान संचालन हुने भएको छ । हात्तीपाईले रोग निवारण कार्यक्रमको आम औषधी सेवन अभियान अन्तरगत यहि चैत्र ५ देखि ७ गते सम्म हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाइने भएको हो । बाँकेका विभिन्न ठाउँमा ९२७ वटा बुथ राखिनेछ । पहिलो दिन बुथबाटै, दोश्रो र तेश्रो दिन घरघरमा पुगेर औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय बाँके प्रमुख खिमबहादुर खड्काले जानकारी दिए । जसका लागि ३४६ स्वास्थ्यकर्मी, २३०३ स्वयंसेवक र ३ जनाको संख्यामा आरआरटी राखिनेछ । यसवर्ष स्वास्थ्यकर्मीकै अगाडि औषधी सेवन गर्नुपर्ने नियमलाई कडाईका साथ लागू गर्ने कार्यालयको भनाई छ ।
साथै जनचेतना फैलाउनका लागि विभिन्न विद्यालय, कलेज, विभिन्न धर्म गुरुहरुसँग अन्तक्रिया, पत्रकारसँग अन्तरक्रिया, माईकिङ्ग लगायतका कार्यहरु गरिरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले ५ लाख २३ हजार ९८ जनालाई औषधि खुवाउने लक्ष्य राखेको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र ३, २०७३     12:13:13 PM  |